बेइजिङ बायनालेमा सुमन र श्रेष्ठको कलाकृति छनोट
काठमाडौँ, ९ भदौ : विश्वप्रसिद्ध बेइजिङ इन्टरनेशनल आर्ट बायनालेमा दुई नेपाली कलाकारका कलाकृति छानिएका छन् । कलाकारद्वय एससी सुमन र रवीन्द्र श्रेष्ठका कलाकृति चीनको बेइजिङमा हुने उक्त बायनालेमा छानिएका हुन् ।
‘आठौँ बेइजिङ इन्टरनेशनल आर्ट बायनाले–२०१९’ बेइजिङस्थित नेशनल म्युजियम अफ चाइनामा ३० अगस्टबाट शुरु हुँदैछ । एक सय २५ देशबाट छानिएका कलाकार सहभागी हुने उक्त प्रदर्शनीमा नेपालबाट सुमन र श्रेष्ठ छानिएका हुन् ।
विश्वकै सबैभन्दा ठूलोमध्येको उक्त बायनालेको मुख्य थिम ‘कलरफुल वल्र्ड एण्ड अ सेयरड फ्युचर’ रहेको सहभागी कलाकार सुमनले जानकारी दिनुभयो । तीन दशकदेखि मिथिला कला बनाउँदै आएका उहाँले नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा लैजान बायनाले महत्वपूर्ण फोरम भएको बताउनुभयो । मिथिला शैलीमा बनाएको कलरफुल विश्वको चित्र बायनालेमा छानिएको उहाँले जानकारी दिए । उक्त प्रदर्शनीमा नेपालबाट दोस्रोपटक छानिएका सुमनले १६ पटकसम्म एकल प्रदर्शनी गरिसकेका छन् । उहाँले भन्नुभयो, “कलामार्फत सांस्कृतिक सम्बन्धलाई विस्तार गर्न यो प्रदर्शनी निकै फलदायी हुने अपेक्षा राखेका छौँ ।”
विश्वलाई सुन्दर र मानवतावादी समाजको परिकल्पना गरी बनाइएको सुमनको चित्रमा निलो रङको पृष्ठभूमिमा चराचर जगतका जीव र तिनको जीवनलाई उतारेका छन् । अर्का कलाकार श्रेष्ठको फिंगरप्रिन्टमार्फत मानवताको विषयलाई प्रस्तुत गरेको चित्र छनोट भएको छ । श्रेष्ठका अनुसार चित्रले विश्वका मानव जातिको रुप, रङ, वेषभूषा तथा संस्कृति फरक भए पनि रगतको रङ भने सबैको रातो हुने विषयलाई उठाइएको छ । शुद्ध सुन र एक्रेलिक रङ प्रयोग गरी बनाइएको उक्त चित्रको पृष्ठभाग निलो रङको छ । जसले मानिस, जीवजनावर तथा जगतका यावत चीजबीच सम्भाव हुनुपर्ने विषय प्रस्तुत गरेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मानव र प्राणी जगतबीचको आत्मियता जगाउने लक्ष्यका साथ चित्र बनाएको हुँ ।”
यसअघि हार्वड विश्वविद्यालय अमेरिका, एसियन बायनाले बङ्गलादेशमा दुईपटक, इण्डियन आर्ट फेयर, डालियन फेस्टिभल चाइनामा छानिएर पुगिसकेका श्रेष्ठले नेपाली कलाले पछिल्लो समय अन्तर्राष्ट्रिय फोरममा आफ्नो प्रभावशाली उपस्थिति जनाउँदै आएको दाबी गर्नुभयो । प्रदर्शनी २३ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ ।
