निबन्धकार लामिछानेको कृतिमाथि सिर्जना संवाद
काठमाडौँ, ६ भदौ : निबन्धकार शङ्कर लामिछानेको विषयमा काठमाडौँमा पाठकीय अन्तरक्रियात्मक ‘सिर्जना संवाद’ गरिएको छ । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा गरिएको संवादमा साहित्य क्षेत्रका विभिन्न वक्ताले लामिछानेको प्रशंसा गर्नुभयो ।
संवादमा पछिल्लो समय उहाँको नाममा प्रकासित ‘शङ्कर लामिछाने निबन्ध’ सङ्ग्रह, लामिछानेको व्यक्तित्व, उहाँको निबन्धको विशेषताबारे चर्चा परिचर्चा गरियो । विभिन्न पत्रपत्रिकामा प्रकाशित लामिछानेको लेखलाई समावेश गरेर २०७५ सालमा मञ्जरी पब्लिकेशनले प्रकाशन गरेको थियो । त्यही निबन्ध सङ्ग्रहमाथि बिहीबार सिर्जना संवाद गरिएको हो ।
विशेषत पुस्तकालयले प्रत्येक महिनाको पहिलो बिहीबार विभिन्न पुस्तकका लेखक तथा पाठकबीच अन्तरक्रिया हुँदै आएको छ । विगत ४ वर्षदेखि हुँदै आएको संवादअन्तर्गत गत साउनमा प्रकाशप्रसाद उपाध्यायको छेउ न टुप्पो र असारमा भैरव अर्यालको कृतिमा चर्चा गरिएको थियो ।
विसं १९८४ मा जन्मनुभएका लामिछानेले विसं २००४ मा ‘साहित्य स्रोत’ पत्रिकामा ‘हाम्रो समाजमा नारी’ लेखबाट आफ्नो लेखन यात्रा शुरु गर्नुभएको थियो । उहाँको पहिलो कथा २००६ सालको शारदा पत्रिकामा छापिएको थियो । लामिछानेले २०२५ सालमा प्रकाशन गरेको ‘गौँथलीको गुँड’, २०२७ मा प्रकाशन गरेको ‘गोधूलि संसार’, २०२८ सालमा प्रकाशन गरेको ‘बिम्ब प्रतिबिम्ब’ र २०३२ सालमा प्रकाशन गरेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ लगायतका ३५ वटा कृतिहरु प्रकाशित छन् ।
विसं २०३२ मा प्रकाशन गरिएको निबन्धसङ्ग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ले मदन पुरस्कारसमेत पाएको थियो । मनमा उब्जेका विशृङ्खलित भावलाई विज्ञान र प्रविधिमा ढालेर नयाँनयाँ बिम्बमा निबन्ध लेख्नु सिर्जना संवादको संयोजन गर्नुभएका डा सनतकुमार बस्तीले बताउनुभयो ।
लामिछाने विश्वमा प्रयोग भएका विभिन्न विषयहरु कृतिमा समावेश गर्नसक्ने खुबी भएका साहित्यकार भएको उहाँको भनाइ छ । सामान्य विषयमा तीखो टिप्पणी गर्न सक्ने बौद्धिक कला भएका लामिछानेको २०३२ साल माघ १० गते निधन भएको थियो ।
संवादमा पुस्तकालयका संस्थापक सदस्य प्रा तीर्थराज वन्त, रोशन शेरचन, शेखर खरेल, प्रा डा जीवन अधिकारी, कवि प्रह्लाद पोखरेल, प्रकाशप्रसाद उपाध्याय, मदनराज थापा, उर्मिला पन्त पाण्डे, ऋचाजी, रमेशानन्द वैद्य, सन्तोष बाँस्तोला, ढकाल राधेश्याम, शरद प्रधान, जुजुभाइ डङ्गोल, रेश्मा शाक्य, सन्तोष परियार, अमन राजभण्डारी, तपेन्द्र क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।
