डङ्गोलको नियात्रा सङ्ग्रह ‘यात्राका पाइला’ लोकार्पित  

काठमाडौँ २४ साउन : पर्यटन व्यवसायी राजेन्द्रमान डङ्गोलको नियात्रा सङ्ग्रह ‘यात्राका पाइला’ आज लोकार्पण गरिएको छ । त्रिशूली वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार तुलसी दिवसले कृति लोकार्पण गर्दै नियात्रा साहित्यले भाषा, कला, संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

उहाँले पर्याप्त सूचना र तथ्याङ्कको सङ्कलनबिना नियात्रा लेखन अधुरो हुने बताउनुभयो । “यथार्थको धरातलमा रहेर मात्र नियात्रा लेख्नुपर्छ”, उहाँले भन्नुभयो, “कलात्मक शैलीमा लेखकले विषयवस्तु पस्कन सकेमा पाठकको रोजाइ बन्छ ।”

उहाँले मेहनेतका साथ कृति प्रकाशन गरेमा एउटै कृतिबाट पनि लेखक प्रख्यात बन्न सक्ने औंल्याउनुभयो । “साहित्यकार अक्षरको खेती गर्ने किसान हुन्” उहाँले भन्नुभयो, “देश विकासमा साहित्यकार र कलाकारले खेलेको भूमिकालाई राज्यले बिर्सनु हुँदैन ।”

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार युवराज नयाँघरेले नियात्रा लेखक सरकारका सांस्कृतिक राजदूत हुन् भन्दै नियात्रा सङ्ग्रहले देश विकासमा समेत मार्गदर्शन प्रदान गर्ने बताउनुभयो । अर्का टिप्पणीकार भीष्म उप्रेतीले अनुभूतिलाई इमान्दारीका साथ उतार्न सकिएमा मात्र नियात्रा लेखनले सार्थकता पाउने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले नियात्रा साहित्यले अर्थतन्त्रको स्तम्भको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याइरहेको बताउनुभयो । “कला, संस्कृति र भूगोल पर्यटनसँग जोडिएका विषयहरु हुन्” उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रका विभिन्न आयामको चित्रण गर्दै नियात्रा लेखिएको हुन्छ । पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले विदेशमा भ्रमण गरेर नियात्रा लेख्नुभन्दा नेपालकै दूरदराजसम्म पुगेर लेखियो भने त्यसले बढी महत्व राख्छ भन्नुभयो । लेखक डङ्गोलले पहिलो कृतिको रुपमा नियात्रा सङ्ग्रह प्रकाशन ल्याइएको बताउनुभयो ।

“अब निरन्तर साहित्यकर्ममा लाग्ने सोच बनाएको छु” उहाँले भन्नुभयो, “अन्य कृतिलाई थप पठनीय बनाउँदै पाठकको मन जित्ने प्रयास गर्नेछु ।” कार्यक्रममा नेपाल– प्रज्ञाप्रतिष्ठान, आख्यान विभाग प्रमुख माया ठकुरी, समालोचक राम लोहनी, आयोजनक प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँल, उपाध्यक्ष आरएम डङ्गोल, साहित्यकार भैरवी भूगोल, लक्ष्मी रुम्बालगायतले पछिल्लो समयमा नियात्रा साहित्यको व्यापकता बढ्दै गइरहे पनि यसको महत्व र आवश्यकताबारेमा प्रचारप्रसारमा जोड दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.