भानुजयन्तीका अवसरमा असारे लोकसाहित्य 

काठमाडौँ, २९ असार : अभिनव साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसर पारेर असारे लोकसाहित्य विशेष कार्यक्रम आयोजना गरेको छ ।

समाजको २०९औँ मासिक साहित्यिक शृङ्खलाअन्तर्गत भएको कार्यक्रममा आदिकवि भानुभक्तसम्बन्धी छन्द र गद्यमा रचना वाचन गरिएको थियो । वाचन गरिएका कविता सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म प्रचलित असारे लोक साहित्यमा आधारित थियो ।

कार्यक्रममा सँगिनी बचत तथा ऋण सहकारीका महिला र अभिनवका शारदा पराजुली, मेनका आचार्य, डिल्लीप्रसाद मुलतिहुन, परशुराम पराजुली र घनश्याम प्रसार्इँसमेतको सहभागितामा पूर्वमा लोकप्रिय सँगिनी गायन तथा नृत्य प्रस्तुत गरियो ।

रेडियो नेपालमा गायन गरिरहनुभएका टङ्क केसी, माधवप्रसाद दाहालले समेत असारे लोक गायन प्रस्तुत गर्नुभएको थियो । हुम्लाकी लक्ष्मी एडीले कर्णाली अञ्चलमा प्रचलित असारे गीत, रामबहादुर थापा, सुशील आचार्य र सिन्धुपाल्चोककी मनकुमारी अर्यालले उपत्यका तथा वाग्मती अञ्चलमा प्रचलित असारे गीत प्रस्तुत गर्नुभयो ।

सो अवसरमा साहित्यकार डा जीवेन्द्रदेव गिरीले भानुभक्त र उहाँको रामायणले समाजमा पारेको प्रभावका बारेमा चर्चा गर्दै लोक साहित्यको समन्वय गराउने काम अभिनवले गरेको बताउनुभयो ।

समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले कार्यक्रमको समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा परशुराम पराजुली, सुमन मित्र, विमल अर्याल, मेनका आचार्य, डा शेषराज, ओमप्रसाद कोइराला, पुण्य गौतम विश्वास, उर्मिला पन्त, सुशील आचार्य, देवकी ढुङ्गाना, रवीन्द्र ढुङ्गेल, यज्ञप्रसाद प्याकुरेल पवन सङ्ग्रौला, राजेन्द्र ढुङ्गाना, सीताराम पोखरेल, इन्दिरा निरौला, रामेश्वर श्रेष्ठ, दिवाकर चालिसे, बुद्धरत्न शाक्य, नवराज पुडासैनी, बिन्दा खतिवडा, रुद्र दुलाल, धर्मानन्द भट्ट, रामप्रसाद घिमिरे, बद्री सुवेदी, शान्ति रिसाल, घम भट्टराई , बलदेव राई, पारस लामा, कृष्ण गौतम, बुनू लामिछाने, कणाद महर्षि, प्रह्लाद पोखरेल, एसपी। आशालगायतले भानुभक्त र असारे लोक लयमा आधारित रचना सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.