अमेरिकी क्रान्तिकारी कवि ह्विटम्यानको सम्झनामा कविगोष्ठी
काठमाडौँ, २७ असार : ह्वाइट लोटस बुक सप, कोपुण्डोलले अमेरिकी क्रान्तिकारी कवि वाल्ट ह्विटम्यानको दुई शय जन्मशताब्दीका उपलक्ष्यमा कविगोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा नेपालका युयुत्सु आरडी शर्मा, तीर्थ श्रेष्ठ, आनन्द गुरुङ, सिर्जना भण्डारीलगायत र बङ्गलादेशका तारेक समिमले राष्ट्रिय कवि ह्विटम्यानको सम्मानमा कविता वाचन गर्नुभयो ।
सो अवसरमा कवि तथा अनुवादक शर्माले विश्वसाहित्यमा ह्विटम्यानको योगदान र उनको कवितामा पाइने पूर्वीय दर्शनबारे जानकारी दिनुभएको थियो । कविहरुले ह्विटम्यानको जन्मस्थल लङ आइल्याण्डमा बस्ने कविहरुका केही कविता पनि पाठ गरेका थिए । ती कविता छिट्टै ‘प्रतीक’ अङ्ग्रेजी साहित्यिक पत्रिकामा प्रकाशन हुने जनाइएको छ । बुक शपले दुई दशकदेखि कविगोष्ठी सञ्चालन गरिरहेको छ ।
