सामूहिक कला प्रदर्शनी शुरु
काठमाडौँ, २४ असार : कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा ‘इलिसियन’ शीर्षकमा सामूहिक कला प्रदर्शनी शुरु भएको छ ।
न्यू समिट कलेज/युनिभर्सल कलेज मैतिदेवी, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र र नेपाल रसिया आर्ट क्लबको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले उद्घाटन गर्नुभयो ।
सदस्यसचिव घिमिरेले नेपाली कलाको विकासमा शिक्षाको महत्व विशिष्ट हुने भएकाले प्रदर्शनीमा नवआगन्तुक कलाकारले बनाएका कलाकृति निकै आकर्षक र सम्भावनाले युक्त रहेको बताउनुभयो । उहाँले कलाको अन्तर्राष्ट्रिय भाषा हुने भएकाले यसले देशको पहिचानलाई फैलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रका डेपुटी डाइरेक्टर एलेक्सी कोटल्यारोमले कलाले मानिसलाई अन्तर्राष्ट्रिय रुपमा जोड्ने बताउनुभयो । युनिभर्सल÷न्यू समिट कलेजका प्रिन्सिपल डा शिवदत्त ज्ञवालीले सात वर्षदेखि ललितकला विषय अध्यापन गराउँदै आएकाले नेपाली कला क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको जिकिर गर्नुभयो ।
प्रदर्शनीमा हरिहर खत्री, मिङ्मा तामाङ, सुजल श्रेष्ठ, ओमप्रकाश सिंह, विशाल सुवेदी, कर्णजङ्ग नेपाली, नवीन घर्ती मगर, विजय रिजाल, कृतिशा चुल्याद्य, सहिल शाही ठकुरी, राम घलान, आश्वासन मिश्र, निकिता श्रेष्ठ, नवीन नापित, साहिल महर्जन, पूर्णिमा राई, हरिराम चौधरी, सुचान महर्जन, प्रभात राई, असिमता राई, बिदेल राई, कृति तिमिल्सिना, आशिष धिमाल, पासाङ डोल्मा शेर्पालगायत कलाकार सहभागी हुनुहुन्छ । न्यू समिट÷युनिभर्सल कलेजमा अध्ययनरत करीब ३० विद्यार्थीका चित्र तथा मूर्ति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी एक सातासम्म रहने आयोजकले जनाएको छ ।
