‘जीवन रुपान्तरण’को प्रवचन : कर्मयोगी बने जीवनको सार्थकता

काठमाडौँ, ५ असार : नेपाल–प्रज्ञा प्रतिष्ठानको ६२औँ जन्मोत्सवका अवसरमा आयोजित ‘जीवन रुपान्तरण’ विषयको प्रवचनमा मानव कर्मयोगी बन्न सकेमात्र उसको जीवनले सार्थकता पाउने विश्वास व्यक्त गरिएको छ ।

लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घको आयोजना गरेको सो कार्यक्रममा आध्यात्मिक चिन्तक डा चिन्तामणि योगी र स्वामी आनन्द अरुणले मानव जीवनको सार्थकता कर्मयोग भएको बताउनुभयो ।

डा योगीले सकारात्मक सोंचका साथ अघि बढ्न सकेमात्र मानिसको जीवन सुखमय हुने बताउनुभयो । उहाँले कुसंस्कारको अन्त्य गर्न सकेमा समुन्नत र सभ्य समाजको निर्माण हुने बताउनुभयो । “मानिस कर्मयोगी बन्न सकेमा जीवनले सार्थकता पाउँछ”, उहाँले भन्नुभयो, “कस्तो मानिस हुने भन्ने उसले गरेका कर्मले नै निर्धारण गर्ने हो ।”

उहाँले मानिस एक मिनेट रिसाउँदा आठ घण्टा शक्ति कम हुने र एक मिनेट हाँस्दा चार घण्टा शक्ति वृद्धि हुने बताउनुभयो । “तनाव र रिसले मानिसलाई निकै हानि पु¥याइरहेको हुन्छ”, उहाँले भन्नुभयो, “सधैँ हाँसी खुशी रहने बानी पार्नु नै सफल जीवनको आधार हो ।” उहाँले अध्यात्मले व्यक्तिलाई सत्कर्ममा हिँड्नका लागि प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

स्वामी अरुणले आर्थिक विकासले मात्र मानिसमा सुख, शान्ति नमिलेको भन्दै योग र ध्यानले मात्र जीवन आनन्दमय हुने बताउनुभयो । “भौतिक र आर्थिक विकासले मानिसमा तनाव उत्पन्न भइरहेको छ”, उहाँले भन्नुभयो, “तनावका कारण मानिस विभिन्न खाले मानसिक रोगको शिकार बनिरहेका छन् ।” उहाँले मानसिक रोगका कारण आत्महत्याका घटना बढिरहेको बताउनुभयो । “पश्चिमा मुलुकमा तनावका कारण आत्यमहत्या गर्ने समस्या भयाभहरुपमा देखापरिहेको छ”, उहाँले भन्नुभयो, “पूर्वीय मुलुकमा गरिने योग, ध्यान र साधनालाई पश्चिमा मुलुकले पछ्याउन खोजिरहेका छन् ।”

उहाँले योग शरीरका लागि र ध्यान शान्तिका लागि गरिने भएकाले यी दुई पक्षको अनुशरण गर्न सकेमात्र सुखमय जीवनयापन गर्न सकिने बताउनुभयो । स्वामी अरुणले बुद्धजयन्तीको दिनलाई अन्तरराष्ट्रिय ध्यान दिवसका रुपमा मनाउनका लागि सरकारसमक्ष आग्रह गर्न लागिएको जानकारी समेत दिनुभयो । “बुद्धले ध्यानकै माध्यमबाट बुद्धत्व प्राप्त गरी विश्वसामु शान्तिको सन्देश प्रवाह गर्न सफल हुनुभयो”, उहाँले भन्नुभयो, “ध्यानको महत्वलाई उजार गर्न अन्तरराष्ट्रिय ध्यान दिवस मनाउन जरुरी छ ।”

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दार्शनिक र आध्यात्मिक प्रवचनले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । “ध्यानसहितको कार्यक्रम निकै प्रभावकारी रह्यो”, उहाँले भन्नुभयो, “यसखाले कार्यक्रम आगामी दिनमा पनि गर्न आवश्यक छ ।” उपकुलपति जगमान गुरुङले ज्ञान र ध्यानले समाजमा सद्भाव वृद्धि गर्ने भएकाले भाषा, साहित्य र संस्कृतिमा साधना गरी आफूलाई अब्बल स्थापित गर्नुपर्ने बताउनुभयो । “नेपाली धर्म संस्कृतिमा सहिष्णुता छ”, उहाँले भन्नुभयो, “हाम्रो संस्कृतिबाट विदेशी पनि लोभिने गर्छन् ।”

कार्यक्रमका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कर्मठ कर्मचारी सम्मानबाट सानु पुजारी र सावित्री नेपाललाई सम्मान गरियो । यस्तै तबलावादक मदन मण्डल, बासुरी वादक विश्व घोतानी र स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरेर सहयोग पु¥याएको भन्दै शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत गीतादेवी शर्मालार्ई सम्मान गरियो । कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद पाठक, प्रतिष्ठानका कर्मचारी अशोककुमार चौरासिया, बुद्धि तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।

सङ्घले जन्मोत्सवका अवसरमा स्वास्थ्य शिविरको पनि आयोजना गरेको थियो । शिविरमा प्रेसर जाँच, सुगर जाँच सेवा प्रदान गरिएको थियो । कार्यक्रममा ललितकला पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.