सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार गुरुङलाई 

पोखरा, १४ जेठ : भैरव सांस्कृतिक संरक्षण समितिबाट सञ्चालित ‘श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०७५’ बाट संस्कृतिविद् तथा प्रा डा जगमान गुरुङ सम्मानित हुनुहुने भएको छ ।

नेपाली संस्कृति विकासका लागि अनुसन्धानको माध्यमबाट दिनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गर्न लागिएको भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले बताउनुभयो । तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसमा गुरुङलाई सम्मानित गर्न लागिएको हो ।

छनोट समितिमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, पोखरेली युवा सांस्कृतिक युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष सरस्वती प्रतीक्षा र पदेन सदस्यमा भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष प्रधानाङ्ग र सचिव सुरेन्द्रमान बिजुक्छे तथा संस्थापकको तर्फबाट गुरु कृष्णदेव प्रधानाङ्ग रहनुभएको थियो ।

गुरुङलाई यही जेठ २० गते पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालय गैह्रापाटनमा आयोजना हुने विशेष समारोहमा सम्माति गरिने छ । पुरस्कारको राशि रु एक लाख एक र सम्मानपत्र छ । पुरस्कार हरेक तीन वर्षमा प्रदान गरिन्छ । भैरव सांस्कृतिक परिवारका पूर्वप्रमुख सल्लाहकार तथा गुरु स्व सर्वज्ञमान प्रधानाङ्ग तथा उहाँकी धर्मपत्नी विष्णुदेवीको नाममा उहाँका परिवारबाट यो पुरस्कार स्थापना गरिएको हो ।

विसं २०५५ मा रु एक लाख पाँच हजारको अक्षयकोषसहित स्थापित यो पुरस्कार पहिले क्षेत्रीयस्तरको थियो भने पछि यसलाई राष्ट्रियस्तरको बनाइएको हो । यस पुरस्कारबाट विसं २०५७ मा सङ्गीतकर्मी कृष्णबहादुर श्रेष्ठ, विसं २०५९ मा सङ्गीतकर्मी प्रज्ञारत्न बज्राचार्य र विसं २०६१ मा संस्कृतिकर्मी चेतन कार्की सम्मानित हुनुभएको थियो ।

राष्ट्रियस्तरको पुरस्कार बनाइएपछि विसं २०६३ मा गायक फत्तेमान, विसं २०६६ मा संस्कृतिविद् सत्यमोहन जोशी, विसं २०६९ मा गायक प्रेमध्वज प्रधान र विसं २०७२ मा गायक अम्मर गुरुङ सम्मानित हुनुभएको भैरव सांस्कृतिक संरक्षण समितिका सचिव सुरेन्द्रमान बिजुक्छेले जानकारी दिनुभयो ।

यसपटक सम्मानित हुन लाग्नुभएका जगमान गुरुङ विसं २००३ मा कास्कीको मादी गाउँपालिकाको याङ्जाकोटमा आमा जोगमाया र पिता शेरबहादुरको पुत्रको रुपमा जन्मनुभएको हो । उहाँ हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुनुहुन्छ । उहाँले गुरुङ जाति तथा संस्कृति, नेपाल एकीकरणमा गुरुङहरुको भूमिका, ब्लो (मुस्ताङ) को सांस्कृतिक सम्पदा, नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रश्रवण क्षेत्रका तीर्थस्थलको विश्लेषणात्मक अध्ययन, गण्डकी प्रश्रवण क्षेत्रको सांस्कृतिक सम्पदा, तमुवानको ऐतिहासिक वृत्तान्तजस्ता कृति लेख्नुभएको छ । उहाँ अहिले पनि संस्कृतिको अनुसन्धानात्मक कार्यमा निरन्तर खटिइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.