‘समृद्धिमा प्रगतिशील साहित्यको भूमिका’

काठमाडौँ, ४ जेठ : साहित्य सन्ध्याको नियमित मासिक ३९५औँ शृङ्खलामा ‘समृद्ध समाज निर्माणमा प्रगतिशील साहित्यको भूमिका’ विषयमा परिचर्चा र कविगोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीका अतिथिमा प्रा डा कृष्णप्रसाद घिमिरे, साहित्यकार नर्मदेश्वरी सत्याल, साहित्यकार विधान आचार्य, गायक एवं सङ्गीतकार माधव प्रधान, वरिष्ठ कवि डिल्लीराज अर्याल, साहित्यकार शीतल गिरीे उपस्थित हुनुहुन्थ्यो ।

समालोचक प्रा डा कृष्णप्रसाद घिमिरेले ‘कला कलाका लागि’ भन्ने र ‘कला जीवनका लागि’ भन्ने दुई खाले मत पाइने र ‘कला जीवनका लागि’ भन्ने दार्शनिक ‘साहित्य जीवनसँग सम्बन्धित हुने बताउनुभयो ।

गोष्ठीमा विधान आचार्य, भोलानाथ सुवेदी, प्रकाश बस्नेत ‘गफाडी’, गोविन्द नेपाल, माधव प्रधान, प्रशान्त खरेल, कल्पना आचार्य, डिल्लीराज अर्याल, शीतल गिरी, चूडा निर्भिक, ललिता दोषी, भावना न्यौपाने, धनबहादुर मगर, कृतिका आचार्य, दुर्गा रिमाल, भारद्वाज मित्र, मन्दिरा मधुश्री, रूपक अलङ्कार र नर्मदेश्वरी सत्यालले आ–आफ्ना कविता, गजल, गीत, हाइकु वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि टिप्पणी गर्दै नर्मदेश्वरी सत्यालले कविता भनेको सङ्क्षिप्तताभित्र विस्तृतता अभिव्यक्त गर्ने विधा भएकाले सर्जकले सिर्जना गर्दा सकारात्मक सोच राखेर गर्न आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष राम विनयले स्रष्टाले निराशा हुन नहुने र सर्वहारा अधिनायकवाद नभई शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्नुपर्दछ भन्ने ख्रुस्चेभको मान्यतानुसार नै हाम्रो मुलुकको शासनसत्ता अहिले चलिरहेको जनाउनुभयो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.