तेह्र बुँदे घोषणापत्र जारी गर्दै ‘कर्णाली वाङ्मय सङ्घगोष्ठी’ सम्पन्न 

सुर्खेत, २८ वैशाख : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबारदेखि शुरु भएको दुईदिने ‘कर्णाली प्रदेशस्तरीय वाङ्मय सङ्घगोेष्ठी’ सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँको सहकार्यमा आयोजना भई आज सम्पन्न भएको सङ्गोेष्ठीले तेह्र बुँदे ‘कर्णाली प्रदेश साहित्यिक घोषणापत्र–२०७६’ जारी गरेको छ । घोषणापत्रको पहिलो बुँँदाले नेपाली भाषाको उद्गमस्थल तथा साहित्य, कला, पुरातत्व र संस्कृतिको अध्ययन–अनुसन्धान, संरक्षण, प्रवद्र्धन गर्न सङ्घीय सरकार र नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको समन्वयमा कर्णाली प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी, क्रमशः सिञ्जा सभ्यता, काक्रेबिहार, पञ्चकोशीलगायतका विद्यमान सांस्कृतिक सम्पदालाई युनेस्कोको सूचीमा सूचीकृत गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको विशेष पहल गरिनुपर्नेमा जोड दिइएको छ । कर्णाली प्रदेशको ऐतिहासिक रेशम मार्ग पहिल्याई बर्दियादेखि हिल्सासम्मको सहज बाटो निर्माण गरी मानसरोवर जाने धार्मिक सांस्कृतिक पर्यटक बढाएर राष्ट्र लाभान्वित हुने नीति ल्याइनुपर्ने जारी घोषणापत्रमा सुझाव दिइएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा लोपोन्मुख अवस्थामा रहेका भाषिक र लोक साहित्यिक सम्पदाको शोध खोज गरी प्रकाशनमा ल्याउने, पृथ्वीको सतहमुनि लुप्त रहेका सांस्कृतिक, पुरातात्विक महत्वका वस्तुको उत्खनन्, पहिचान, सदुपयोग र संरक्षण, जडिबुटीको धनी प्रदेशमा आयुर्वेदिक प्रतिष्ठान खडा गर्नेलगायतका बुँदा घोषणापत्रमा समेटिएको सुर्खेती कल्याण समाज, काठमाडौँका सभापति डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।

सङ्घगोेष्ठीमा ‘नेपाली कवितामा कर्णाली प्रदेशको योगदान’का बारेको कार्यपत्र प्रा जगतप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा खोपीराम लम्सालले टिप्पणी गर्नुभयो । समापन कार्यक्रममा कर्णाली प्रदेशभरिका तीन दर्जन कवि साहित्यकारले पद्य तथा गद्यशैलीका कविता वाचन गर्नुभएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिवसमेत भइसक्नुभएका सुर्खेती कल्याण समाज काठमाडौँका सभापति डा गिरीले सांस्कृतिक तथा पुरातात्विक रुपले सम्पन्न कर्णाली प्रदेशलाई विश्वको अध्ययन–अनुसन्धान तथा अन्वेषण गर्ने केन्द्रमा स्थापित गराउने उद्देश्यले १३ बुँदे घोषणापत्र जारी गरिएको बताउनुभयो ।

सङ्घगोेष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मध्यपश्चिम विश्वविद्यालय, शिक्षा क्याम्पस सुर्खेत, कर्णालीमा स्थापित विभिन्न साहित्यक सङ्घ, संस्था र प्रदेशभरिका लेखक, कवि, साहित्यिकार एवं सर्जक स्रष्टाको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal