कविता राईको ‘आमा र जून’ सार्वजनिक
काठमाडौँ । वैशाख ७ गते शनिबार : पत्रकारिता र साहित्य लेखनलाई सँगसँगै अगाडि बढाउँदै पछिल्लो समय शिक्षण पेशामा संलग्न रहेकी भोजपुरकी स्रष्टा कविता राईको कविताकृति ‘आमा र जून’ लोकार्पण गरिएको छ ।भोजपुरका सङ्घीय सांसद माननिय सुदन किराती, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेल, प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् प्रगतिशील लेखक सङ्घका नवनिर्वाचित अध्यक्ष प्रा. डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ एवम् वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू लगायतले राईका कृति संयुक्त रुपमा लोर्कापण गर्नु भएको हो ।
नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा कृति विमोचनपछि बोल्दै सांसद राईले साहित्यले राजनीतिलाई मार्गदर्शन गर्ने बताउनुभयो । सांसद राईले मेक्सिम गोर्कीले ‘आमा’ उपन्यास लेखेकै कारण रुसमा राजनीतिक परिदृश्य कायापलट भएको र लुसुनको साहित्य र माओको क्रान्ति एकआपसमा अन्तरसम्बन्धित भएको भन्दै उनले समाज परिवर्तन र राष्ट्रको समृद्धिमा साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै कविता राईका कतिपय कविताहरू आफ्नै जीवनका बारेमा लेखिएको जस्तो लाग्ने बताउनुभयो ।
प्राज्ञ डा. पौडेलले लोकार्पित कृतिभित्र ग्रामीण जीवन र परिवेशको सघनता पाइने बताउँदै भन्नुभयो, “कविताहरूले मानिसका सपना बोकेका छन् । लोकभावना र लोकसंवेदनालाई सरल ढङ्गबाट प्रस्तुत गरिएको छ ।”
समालोचक डा. नारायण गडतौलाले लोकार्पित कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै कविले आफ्नो अन्तरले देखे तथा भोगेको जीवन र सुनेको स्वर्गलाई बुनेर यथार्थ र कल्पनाको सुन्दर कला बुनेको बताउनुभयो । कृतिभित्रका कविताहरू अब्बल रहेको गडतौलाको ठम्याई थियो ।प्रा.डा. गिरी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका श्याम तमोट, प्रदेश सभा सांसद राजेन्द्र राई, पूर्व सांसद जयन्ती राई र गीतकार टीका चाम्लिङले कवि राईका कविताहरू सरल र सम्प्रेषणीय हुनुका साथै अब्बल भएको दाबी गर्नुभयो ।
कार्यक्रममा कविता लेखनको अनुभूतिसहित कृतिकी स्रष्टा राईले ‘बाबा’, ‘रुवाइ’ तथा ‘आमा र जून’ शीर्षकका तीन कविता वाचन गरेर सुनाउनु भएको थियो ।
कवि बाबा बस्नेतले कृतिभित्रको ‘सोल्टीज्यू’ शीर्षक कविता सुनाउनु भयो ।
