सबैभन्दा ठूलाे शब्दकाेश ‘नेपाली शब्दसागर’का लेखक नेपालको ९७ वर्षको उमेरमा निधन

काठमाडौँ, ७ वैशाख : कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा उहाँकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका साहित्यकार नेपाल दुई महीनादेखि निवासमै अचेत अवस्थामा हुनुहुन्थ्यो । पाँच महीनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महीनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोड्नुभएको उहाँका माहिला छोरा विनयकुमारले जानकारी दिनुभयो ।

उहाँ मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उहाँको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए । विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पु¥याइएको थियो ।

उहाँले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गर्नुभएको छ । यसैगरी १३५ वटा उपनिषद् पनि अनुवाद गर्नुभएको छ । हालसम्म उहाँका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० वटा पाण्डुलिपी तयार छन् । उहाँका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.