पारिजात सम्मान घोषणा

काठमाडौँ, ५ वैशाख : पारिजात स्मृति केन्द्रले यस वर्षको विभिन्न सम्मान घोषणा गरेको छ । केन्द्रले ‘पारिजात सिर्जन सम्मान’ आनन्ददेव भट्टलाई, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ सरिता डङ्गोललाई, ‘पारिजात कला सम्मान’ रामकृष्ण दुवाललाई तथा ‘पारिजात बाल साहित्य सम्मान’ खगेन्द्र सङ्ग्रौलालाई प्रदान गर्ने निर्णय गरेको छ ।

पारिजातको लेखन र जीवनका विषयमा विद्यावारिधि गर्ने प्रा डा कृष्णप्रसाद घिमिरे, डा चन्द्रमान श्रेष्ठ, डा नयना प्रधान, प्रा डा बद्रीविशाल पोखरेल, प्रा डा भवानीप्रसाद पाण्डे, प्रा डा हरिहर भण्डारी र डा सिर्जना शर्मालाई पारिजात सम्मान प्रदान गर्ने निर्णय गरेको केन्द्रका सदस्य सचिव स्नेह सायमीले जानकारी दिनुभयो । पारिजातको २६औँ स्मृति दिवसका अवसरमा म्हैपीस्थित उहाँको प्रतिमामा माल्यार्पण गर्न आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गर्ने घोषणा गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगातयले पारिजातको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । स्रष्टा पारिजातका ‘शिरीषको फूल’लगायत लोकप्रिय कृति छन् । उक्त सम्मान यही वैशाख २८ गते प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.