गोपालप्रसाद रिमाल काव्यसम्मान अधिकारीलाई
काठमाडौँ, ४ वैशाख : लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यो वर्षदेखि गोपालप्रसाद रिमाल काव्यसम्मान प्रदान गर्ने घोषणा गरेको छ ।
साहित्यकला मन्दिरले स्रष्टासम्मानको २५औँ वर्ष पूरा गरेको अवसरमा विगत वर्षहरूदेखि नै प्रदान गरिँदै आएका विभिन्न सात सम्मानहरूका अतिरिक्त यो वर्षदेखि अग्रज कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
वरिष्ठ कवि दिनेश अधिकारीलाई रु ५१ हजार नगदका साथै प्रशस्ति–पत्रसहितको उक्त पुरस्कार यही वैशाख २७ गते प्रदान गरिने साहित्यकला मन्दिरले आज जनाएको छ ।
साहित्यकला मन्दिरले आख्यानकार पद्मावती सिंहलाई प्रशस्ति–पत्रसहित रू एक लाख एकको गङ्गादेवी चौधरी स्मृतिसम्मान, अग्रज साहित्यिक इतिहास–अनुसन्धाता मोदनाथ प्रश्रितलाई, इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान, वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारीलाई सरस्वतीसम्मान, लोक, आधुनिक सङ्गीतका साधक गणेश रसिकलाई नारायणगोपाल सङ्गीतसम्मान, नेपाली चित्रकला क्षेत्रका किरण मानन्धरलाई अरनिको ललितकलासम्मान र रङ्गमञ्च क्षेत्रकी अभिनेत्री भुवन थापा चन्दलाई बालकृष्ण सम रङ्गसम्मान प्रदान गर्ने भएको छ ।
त्यसैगरी फरक क्षमता भएकी सृष्टि केसीलाई नेपाल नवप्रतिभासम्मान प्रदान गरिने भएको छ । यी सबैलाई रु ५१ हजार प्रशस्ति–पत्र प्रदान गरिनेछ ।
