परम्परागत चित्रकलाको विकास र विस्तारमा जोड

काठमाडौँ, २ वैशाख : कलाकारले धार्मिक र सांस्कृतिक महत्व बोकेको परम्परागत चित्रकलाको विकास र विस्तार गर्दै जानुपर्ने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठान(नाफा)को परम्परागत शिल्पकला विभागले आज प्रतिष्ठानमा आयोजना गरेको ‘पाँचदिने थाङ्का पौभा चित्रकला प्रशिक्षण कार्यक्रम’ को समापन कार्यक्रममा सहभागीले प्रशिक्षण कार्यक्रम प्रदेशस्तरमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको समापन गर्दै नाफाका कुलपति केके कर्माचार्यले कलाकारलाई परम्परागत चित्रकला बुझ्न पाँच दिन पर्याप्त समय नभएको औँलाउनुभयो । चित्रकला अध्यापन गराउने शैक्षिक संस्थाहरुले यस विषयमा धेरै सिकाउन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले समय समयमा यस्ता कार्यक्रममार्फत कलाकारलाई प्रशिक्षण दिए पनि नियमित रुपमा परम्परागत चित्रकला सिकाउने कलेजहरुले नै हो ।”

नाफा परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धिबहादुर गुरुङले परम्परागत कला प्रशिक्षण प्रदेशस्तरसम्म गर्ने योजना रहेको बताउनुभयो । परम्परागत चित्रकलाको ऐतिहासिक र परम्परागत महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कलेजमा ललितकला अध्ययनरत विद्यार्थीले यस विषयमा सिक्नैपर्छ ।”

कला समीक्षक तीर्थ निरौलाले परम्परागत चित्रकला हाम्रो धर्म, संस्कृति र संस्कारको ऐना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले नै नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाएकाले यसलाई ओझेलमा पार्नुहुँदैन ।”

कलाकार पूर्णप्रसाद ह्योजुले यस किसिमको तालीमलाई निरन्तरता दिनुपर्नै औँल्याउनुभयो । प्रशिक्षार्थी यशकुमार केसीले प्रशिक्षणले आधारभूत ज्ञान दिएको बताउनुभयो । नाफाले बिहीबारदेखि शुरु गरेको प्रशिक्षणमा सबै प्रदेश र ललितकला विषयको प्राध्यापन हुने कलेजमा अध्ययनरत विद्यार्थी गरेर गरी कूल ३८ कलाकार सहभागी थिए ।

नेवारी परम्परामा विभिन्न देवदेवीको आकृति पौभामा उतार्ने गरिन्छ । बुद्ध दर्शनमा आधारित बुद्धकालीन विषयलाई कपडा तथा कागजमा उतार्ने कलालाई थाङ्का भनिन्छ ।

तत्कालीन काठमाडौँ उपत्यकामा १२ औँ शताब्दीमा शुरु भएको पौभाको संस्कृति क्रमिक रुपमा तिब्बतमा फैलिएर परिमार्जित भएपछि थाङ्का भनिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal