लोकतान्त्रिक स्रष्टाहरुले खबरदारी जारी राख्ने
काठमाडौँ, ३० चैत : लोकतान्त्रिक आन्दोलनमा सहभागी अगुवा साहित्यकाहरुले लोकतान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भए निरन्तर खबरदारी गर्ने जनाएका छन् ।
विसं २०६२/६३ को जनआन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको स्मरणमा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले केवल सत्ताको स्थानान्तरण मात्र लोकतान्त्रिक आन्दोलनको ध्येय नभएको विचार व्यक्त गरे ।
सो आन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते गुरुकुल(आरोहण)बाट स्रष्टाहरुले कफ्र्यु तोडेर निकालेको जुलुश पुरानो बानेश्वर पुग्दा तत्कालीन सरकारले दमन गरेको दिनलाई स्रष्टाहरुले स्मरण गर्दै आएका छन् ।
आन्दोलनताका स्थापित लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चका संयोजक वैरागी काईंलाले सबै विचारधाराका स्रष्टाहरुले एकीकृतरुपमा शासन पद्धतिमा देखिने खराबीका विरोधमा खबरदारी जारी राख्नुपर्ने बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका उहाँले भन्नुभयो, “लोकतन्त्र भनेको विधिको शासन हो । कुनै व्यक्तिलाई देवत्वकरण गरिए अधिनायकवाद जन्मन सक्छ । स्रष्टाहरु आजीवन प्रतिपक्षी भूमिकामा रहेर खबरदारी गरिरहनेछन् ।”
वक्ताहरु डा विष्णुविभू घिमिरे र डा कुमारबहादुर कोइरालाले पनि कुनै पनि सत्ताको स्तृति गर्नु सचेत र इमान्दार स्रष्टाको धर्म नभएको जनाउँदै लोकतान्त्रिक गणतन्त्रमा आउने चुनौतीको सामना गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
दाहाल र सुवेदी सम्मानित
सो अवसरमा यसवर्षको सम्मान स्रष्टाहरु पुरुषोत्तम दाहाल र पुरुषोत्तम सुवेदीलाई प्रदान गरियो ।
लेखन र कर्मबाट लोकतान्त्रिक आन्दोलन तथा संस्कृति निर्माणमा उल्लेखनीय योगदान गरेवापत उहाँहरुलाई सो सम्मान दिइएको संस्थाका अध्यक्ष मनोज न्यौपानेले जानकारी दिनुभयो । दाहाल उपन्यासकार, कवि एवं राष्ट्रिय समाचार समिति(रासस) का पूर्वअध्यक्ष हुनुहुन्छ भने सुवेदी कवि, अनुवादक र समीक्षक हुनुहुन्छ । विसं २०६३ देखि दिन थालिएको सो सम्मान हरेक चैत ३० गते प्रदान गरिन्छ ।
यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, वैरागी काईंला, डा. तुल्सी भट्टराई, निनु चापागाई, किरण मानन्धर, देशभक्त खनाल, डा वेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुईटेल, उत्तमकृष्ण मजगैँया, किसन प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा दुवसु क्षेत्रीलगायत सम्मानित भइसक्नुभएकोे छ ।
सो संस्था विसं २०६३ मा आरएम डङ्गोलको नेतृत्वमा स्थापित भएको थियो ।
