प्रलेस सम्मेलन शुक्रबार, चार स्रष्टालाई सम्मान गरिने

काठमाडौँ, २१ चैत (रासस) : वामपन्थी लेखकहरुको साझा संस्था प्रगतिशील लेखक सङ्घको एघारौँ राष्ट्रिय सम्मेलन शुक्रबार शुरु हुँदैछ ।

देभरभरका विभिन्न ५६ जिल्ला शाखाबाट करीब ४५० प्रतिनिधि सहभागी हुने सम्मेलनमा प्रगतिशील साहित्यिक क्षेत्रका वर्तमान चुनौती र भावीदिशाका बारेमा समेत छलफल भई समसामयिक प्रस्ताव पारित गरिने प्रलेसका अध्यक्ष मातृका पोखरेलले जानकारी दिनुभयो ।

उहाँले प्रगतिशील आन्दोलनका क्षेत्रमा बहस चल्नु उचित भए पनि राष्ट्रियता, जनतन्त्र, जनजीविका र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद–विरुद्धको मूल एजेण्डामा एकै ठाउँमा उभिएर जान सकिने बताउनुभयो ।

सम्मेलनको सम्मुखमका कम्युनिष्ट पार्टीनिकट सांस्कृतिक घटकमध्येका केही घटक र पदाधिकारीले प्रलेस समय सापेक्ष हुन नसकेको भन्दै सम्मेलन पर सार्न माग गरे पनि सबै तयारी पूरा भएकाले सम्मेलन तोकिएको समयमा हुने महासचिव आर एम डङ्गोलले जानकारी दिनुभयो ।

चार स्रष्टा सम्मानित हुँदै

सम्मेलनमा शान्ता मानवी, शारदारमण नेपाल, प्रा डा श्रीधर गौतम र हरिहर खनाललाई सम्मानित गरिने भएको छ । प्रगतिशील साहित्यिक क्षेत्रमा उहाँहरुले दिनुभएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गर्न लागिएको चयन समितिका संयोजक डा पुष्करराज भट्टले जानकारी दिनुभयो ।

शनिबार सम्पन्न हुने सम्मेलनले विधान संशोधन पारित गरी नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.