पुष्पपराग वर्ष सम्मान विनोदीलाई

काठमाडौँ, ३ चैत : पुष्पपराग साहित्य प्रतिष्ठानको वार्षिक दिवस तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रा डा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कवि गोविन्द विनोदीलाई १० हजार रुपियाँ राशिको पुरस्कारसहित पुष्पपराग वर्ष सम्मान प्रदान गरियो ।

प्रा डा माधवप्रसाद पोखरेललाई नील–गङ्गा भाषा साहित्य पुरस्कार तथा कवि दिव्यलक्ष्मी पोखरेललाई तिलकुमारी खड्का स्मृति पुरस्कारले सम्मान गरियो । उक्त पुरस्कार राशि क्रमशः रु १० हजार र पाँच हजार रहेको छ । प्रतिष्ठानले वरिष्ठ गजलकार एवम् समालोचक डा घनश्याम परिश्रमीलाई मानार्थ सदस्य, साहित्यकार मुकुन्द न्यौपानेलाई पुष्पपराग सम्मानपत्र तथा विन्दु ढकाल र प्रजापति तिमिल्सिनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।

कवि विनोदीका बारेमा प्रा डा वेदव्यास उपाध्याय, प्रा डा माधवप्रसाद पोखरेलका बारेमा डा सुकुम शर्मा र कवि दिव्यलक्ष्मी पोखरेलका बारेमा डा गीता त्रिपाठीले आ–आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी कवि निर्मोही व्यासको मुक्तक सङ्ग्रह ‘तस्वीर तिम्रै’ र कवि टी.एन. भट्ट विश्वामित्रको कविता सङ्ग्रह ‘सूर्यपुत्र’ विमोचन भए । तस्वीर तिम्रै मुक्तक सङ्ग्रहमाथि कवि तथा समालोचक डा रामप्रसाद ज्ञवाली र डा लेखप्रसाद निरौलाले समीक्षा गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डा यज्ञेश्वर निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा डा वासुदेव त्रिपाठी, प्रा डा माधवप्रसाद पोखरेल र प्रा राजेन्द्र सुवेदीले कार्यक्रमको गरिमा एवम् महिमाका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.