बहुविधाका श्रष्टा ‘भीमनिधि तिवारी’

काठमाडौँ, १ चैत : कवि भीमनिधि तिवारी नेपालीपनलाई मौलिकतामा ढालेर सरल रुपमा साहित्यिक रचना प्रस्तुत गर्ने बहुविधाका स्रष्टा भएको साहित्यिक स्रष्टाले बताएका छन् । नाटक, काव्य, कहानी, गजल, भजन, प्रबन्धलगायत त्यती बेला प्रचलनमा आएको सबै विधामा कलम चलाएका तिवारी सर्वसाधारणको मन मस्तिष्कमा भिजेका साहित्यकारको रुपमा उहाँहरुले स्मरण गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा आज राजधानीमा आयोजित तिवारीको १०८औँ जन्मजयन्ती समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले नेपाली साहित्यमा उहाँको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै जन्मथलोलाई संरक्षण गरेर साहित्यिक गतिविधिसँग जोड्नुपर्ने बताउनुभयो ।

समालोचक डा गोपिन्द्र पौडेलले उहाँको समयमा चलनचल्तीमा रहेका सबै विधामा कलम चलाउने सिद्धहस्त श्रष्टाको रुपमा सम्झँदै चार दशकको साहित्य साधनासँगै तिवारीले सामाजिक जीवनमा समेत महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

विसं २०१७ मा पद्य विधामा पहिलो मदन पुरस्कार प्राप्त गर्नुभएका तिवारीका १९ नाटक–एकाङ्की, १२ कविता–काव्य, कथा सङ्ग्रह १०, दुई वटा गीत–गजलका कृति, प्रबन्ध संग्रह, उपन्यास लगायतका साहित्यिक कृतिहरु रहेको डा पौडेलले जानकारी दिनुभयो ।

विसं १९६८ फागुनमा जन्मनुभएका तिवारीको विसं २०३० मा निधन भएको थियो । राणाकालीन समयमा आफ्नै रुचीमा पाठशाला सञ्चालन गर्नुभएका तिवारीले विसं १९९५ मा नेपाली साहित्य प्रेस खोल्नुभएको थियो । आइएसम्म अध्ययन गर्नुभएका उहाँले ३२ वर्ष सरकारी सेवा गर्नुभएको थियो ।

“मुख्यगरी तिवारीलाई त्रिकोणात्मक आयामभित्र खोज्नुपर्छ, कवि, कथाकार र नाटककार डा पौडेलले उहाँको व्यक्तित्वको चर्चा गर्दै थप्नुभयो, “उहाँको विशेषता भनेको मौलिकता र सरलता नै हो ।” तिवारीका रचनामा नेपालीपन र नेपाली माटो मिसिएकाले तत्कालीन पाठकले उहाँका रचना खोजी खोजी पढ्ने गरेको उहाँले बताउनुभयो ।

नेपाली पात्रलाई उभ्याएर पूर्वाद्र्धमा जनपक्षीय लेखक र उत्तराद्र्धमा परम्परागत सिर्जनामा असन्तुष्टि जनाउँदै बाटो बदल्नुभएको थियो । विसं २०१३ पछि उहाँले हास्यव्यङ्ग्यका रचनालाई जोड दिनुभएको पौडेलले बताउनुभयो ।

प्रज्ञा प्रतिष्ठान स्थापनाताक महिला सहभागिता माग गरेपनि उहाँको माग पूरा हुन सकेको थिएन । प्रा डा ढुण्डिराज पहाडीले तिवारीको गीति साहित्यसमेत महत्वपूर्ण रहेको उल्लेख गर्दै लुप्त अवस्थामा फाटेको, टुटेको र हराएको गीति साहित्यलाई खोज गरेर आफूले कृति निकालेको जानकारी दिनुभयो ।

सोही कारण उहाँलाई आजै भीमनिधि तिवारी साहित्य पुरस्कारसमेत प्रदान गरिएको थियो । यस्तै तिवारीका ‘उपन्यासको सामाजिकता’ विषयमा सोधग्रन्थ लेख्न थाल्नुभएका रविन्द्र अधिकारीलाई समेत पुरस्कृत गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले तिवारीले सिर्जनामय जीवन व्यातित गरेको उल्लेख गर्दै भन्नुभयोे, “कुनै लोभ गर्नुभएन, स्वाभिमानपूर्वक काम गर्नुभयो, भलै समकालीन साहित्यकारले जस्तो पद, सम्मान पाउनुभएन तर उहाँले सरल, सरस र मर्मस्पर्शी सिर्जना लेखेर नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान गर्नुभयो ।”

गायिका लोचन भट्टराईले विसं २०६१ मा सङ्गितबद्ध भएको छन्द एल्बममा उहाँको दुई वटा रचना समावेश गरेको बताउनुभयो । पञ्चचामर छन्दमा रहेको उहाँको एउटा कविता भट्टराईले गाएर सुनाउनु भएको थियो ।

म सात वर्षको थिएँ
अवोध बालक थिएँ
कुनै कुरा थिएन थाहा
मस्त निद्रामा थिएँ

भीमनिधि तिवारी साहित्य समितिका उपाध्यक्ष विष्णुराज आत्रेयले पुराना साहित्यकारका बिँडो थाम्ने काम छोराछोरीले मात्रै गरेको प्रसङ्ग जोड्दै हरेक साहित्यकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कवि तिवारी नेपालीपन बोक्ने सच्चा श्रष्टा भएको भन्दै स्मरण गर्नुभयो ।

समितिका सचिव एवं कवि तिवारीकी छोरी बेञ्जु शर्माले राणाकालीन शोषण दमन, शासकका खोक्रा तुजुकका कथा र विकृति विसङ्गतिलाई उजागर गरेको उल्लेख गर्दै तिवारीको साहित्य पढ्नु भनेको नेपाली समाज बुझ्नु हो भन्नुभयो ।

विदेशीले समेत उहाँका रचनामा चाख देखाएको भन्दै उहाँले तिवारीका रचनामा देखिने सरल भाषाका कथाले देशको चित्र र नेपाली ठेट भाषा बोलेको बताउनुभयो । तिवारीको पहिलो रचना गोरखापत्रमा विसं १९९१ मा ‘कविता हरायो’ कविता प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.