प्रज्ञा–प्रतिष्ठानले ‘बालप्रज्ञा’ प्रकाशन गर्ने

काठमाडौँ, २७ फागुन : नेपाल प्रज्ञा–प्रतिष्ठानले बालसाहित्यसम्बन्धी पत्रिका प्रकाशन गर्ने भएको छ ।

प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक ‘बालप्रज्ञा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरिने भएको हो । प्राज्ञ परिषद्को बैठकको निर्णयानुसार साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको संयोजनमा नयाँ वर्ष २०७६ वैशाखबाट ‘बालप्रज्ञा’ प्रकाशन हुने विभागीय प्रमुख प्राज्ञ डा देवी नेपालले बताउनुभयो ।

प्राज्ञ डा नेपालका अनुसार अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’को पहिलो अङ्कमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक एवं प्रधानमन्त्री, संरक्षक संस्कृतिमन्त्री र कुलपतिको विशेष शुभकामनाका साथै राष्ट्रकवि माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, वैरागी काइँला, मदनमणि दीक्षित, वासुदेव त्रिपाठी, चूडामणि बन्धु, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, शैलेन्दुप्रकाश नेपाल आदिका सङ्क्षिप्त शुभकामना राखिनेछ ।

रङ्गीन कलेवरमा प्रकाशित हुने ‘बालप्रज्ञा’मा बाल कविता, बालकथा, बालोपयोगी जीवनी, निबन्ध, प्रबन्ध, नियात्रा, बालनाटक र एकाङ्की, बाल समीक्षा, विधागत सिद्धान्त र विविध सामग्री समावेश गरिने प्रधानसम्पादक प्राज्ञ डा नेपालले बताउनुभयो । पत्रिकाको सम्पादक समूहमा नवराज रिजाल, गोपीकृष्ण ढुङ्गाना, देवु लुइँटेल र कार्यकारी सम्पादकमा डा ध्रुव घिमिरे रहनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.