अठार वर्षीय लेखक घिमिरेको उपन्यास ‘अ वाक अवे फ्रम होम’ सार्वजनिक
काठमाडौँ, २५ फागुन : युवा साहित्यकार अनिश घिमिरद्वारा लिखित अङ्ग्रेजी उपन्यास ‘अ वाक अवे फ्रम होम’ विमोचन गरिएको छ । अठार वर्षीय लेखक घिमिरेको उपन्यास स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा सचिव घिमिरेले नेपाली साहित्य क्षेत्रमा अङ्ग्रेजी भाषाका कृति कम भएको बताउँदै ‘अ वाक अवे फ्रम होम’ले युवा पुस्ताको भावनालाई समेटेको उल्लेख गर्नुभयो । “उपन्यासमा सिर्जनात्मक क्षमताका माध्यामबाट उत्कृष्ट लेखन, शिल्प र शैलीको माध्यमबाट पाठकलाई आकर्षण गरेको छ”, उहाँले भन्नुभयो ।
प्रा डा राजन पोखरेलले अङ्ग्रेजी भाषाको उपन्यासको भाषा, शैली राम्रो रहेको बताउनुभयो । उक्त पुस्तक विद्यालयको पाठ्यक्रममा राख्न आवश्यक र उपयुक्त हुने उहाँको भनाइ थियो ।
प्राध्यापक इन्द्र कार्की र नेपाल टेलिभिजनका पूर्वनिर्देशक जीवनाथ धमलालगायतले उपन्यासले अङ्ग्रेजी भाषा साहित्यको जगतमा गर्विला उपस्थिति जनाउन सक्ने सम्भावना देखाएको बताउनुभयो ।
उपन्यासकार घिमिरेले पहिलेदेखि नै अङ्ग्रेजी साहित्यमा आफ्नो चाख रहेकाले आफू अङ्ग्रेजी साहित्य लेखनमा लागेको बताउनुभयो ।
