नेपाली कला र संस्कृति बोकेर फर्किए भारतीय चित्रकार

नारायण ढुङ्गाना । काठमाडौँ, २४ फागुन : नेपालको कला संस्कृतिबारे अध्ययन भ्रमणमा आएको भारतीय कलाकार(चित्रकार) काठमाडौँ उपत्यकाको पुरातात्विक महत्वका कला र संस्कृति बोकेर फर्किएका छन् ।

साताव्यापी भ्रमणमा आएका उनीहरुले उपत्यकाको पहिचान पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार स्क्वायर र काठमाडौँ दरबार स्क्वायर, भक्तपुरको ठिमी तथा नगरकोटका महत्वपूर्ण दृष्य क्यान्भासमा उतारेर फर्किएका हुन् । भारतीय १५ चित्रकारको नेतृत्व गरेर आउनुभएका महाराष्ट्रका अब्बल चित्रकार कुडलया हिरेमठले उपत्यकाको पुरातात्विक महत्वका कलाकौशलले फरक खालको अनुभूति भएको उल्लेख गर्दै क्यान्भासमा उतारेर लगेको बताउनुभयो ।

नेपालको यात्रा चित्रात्मक रहेको उल्लेख गर्दै उहाँले प्यागोडा र शिखरशैलीका नेपालका पुरातात्विक संरचनाले लोभ्याएको उल्लेख गर्नुभयो । उक्त समूह आजमात्रै स्वदेश फर्किएको छ । नेपालमा रहँदा भारतीय चित्रकारलाई अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले समन्वय गरेको थियो । नेपालमा देखिएका दृष्यलाई भारतमा पुगेर पनि क्यान्भासमा उर्ताने चित्रकारले बताएका छन् ।

भारतीय चित्रकारहरु नेपाली कला र संस्कृति हेरेर औधी रमाइलो मानेको बताउँदै समाजका अध्यक्ष एनवी गुरुङले भन्नुभयो, “अब उनीहरुसँग बसेर बनाइएका चित्रकहरुको दुई देशमा वृहत प्रदर्शनी गर्ने योजना बनाएका छौँ, यो ५,६ महीना भित्रैमा हुन्छ ।” चित्रकारहरुको संस्था ‘संस्कार भारती’बाट चित्रकला अध्ययनका लागि आएका भारतीय चित्रकारले जलरङमार्फत दृष्य क्यान्भासमा उतारेका छन् ।

ललितकलाका माध्यमबाट भारतमा सो समूहले हरेक हप्ता चित्रकला कार्यशाला (कक्षा) चलाउँदै आएका छन् । भारतमा मात्रै अभियान चलाएका चित्रकार अन्तर्राष्ट्रिय जलरङ समाज नेपालसँगको समन्वयमा पहिलो पटक नेपाल आएका हुन् ।

उनीहरुलाई नेपाली चित्रकारहरुले पनि क्यान्भासमा जलरङ भरेर साथ दिएका थिए । पुरातात्विक महत्वसँगै ठिमीका मौलिक संस्कृति रहनसहन र मठमन्दिरमा भारतीय चित्रकारले खुबै मन पराएको समाजका महासचिव दिपेन्द्रमान वनेपालीले बताउनुभयो ।

“ठिमीका गल्लीगल्ली घुमायौँ, हरेक ठाउँ उनीहरुलाई नौलो भयो, जे देख्यो त्यसैमा आकर्षित भए, तस्बीरसमेत खिचेर लगेकाले उनीहरुले स्वदेशमा गएर चित्र बनाइ नेपालको संस्कृतिबारे प्रचार गर्नेमा विश्वस्थ छौँ,” वनेपालीले भन्नुभयो । दुई देशका चित्रकारबीच यसरी चित्रकला कार्यशाला हुँदा आपसी संस्कृति आदानप्रदान हुने र सम्बन्ध प्रगाढ हुने कलाकारको भनाइ छ ।

नेपालका प्यागोडाशैली र शिखरशैलीका संरचना विश्वकै लागि आकर्षक छन् । यस्ता संरचना लिच्छविकालदेखि कै हुन् । नेपालबाट पनि नेपाली शैली भारतमा गएका छन् । भारतबाट पनि मिथिलाञ्चल क्षेत्रमा संरचना भित्रिएकाले दुई देशबीच भौगोलिक र राजनीतिक मात्रै होइन कलाको पनि सम्बन्ध रहेको बताइएको छ ।

भारतीय चित्रकार विक्रान्त सिटोले र फारुख नगाफलले नेपालका कला कौशल चित्रमा उतारेर लैजाँदा भारतमा समेत चित्रमार्फत नेपालको प्रचारप्रसार हुने भएकाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । भारतका प्रफुल्ल सावन्तले नेपाली दृष्यले आकर्षित गराएको बताउँदै एकै ठाउँमा बसेर एक महीनासम्म चित्र कोर्न सकिने धेरै विषय रहेको उल्लेख गर्नुभयो ।

यस्ता कार्यक्रमले दुई देशको सम्बन्ध विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले समेत संयुक्त कार्यक्रम गर्ने योजना बनाएको कुलपति कान्छाकुमार कर्माचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal