‘नदिया लहर’ बजारमा
अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी काठमाडौँकी युवाकवि नदिया लिबाङ आफ्नो पहिलो कविताकृति ‘नदिया लहर’ सहित नेपाली कविता क्षेत्रमा प्रवेश गरेकी छन् ।
गोर्खा बुक्स, काठमाडौँले छापेको नदियाको कृतिमा प्रेम, समाज–संस्कृति, सामाजिक विकृति–विसंगतिका साथै डायस्पोरा दुःख र नारीका विषयमा रचना गरिएका ५६ कलात्मक र मिठासपूर्ण कविता समाविष्ट छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग प्रमुख प्रा डा ज्ञानु पाण्डेले कवि नदिया प्रचुर काव्यचेत भएकी एक साहसी कवि हुन् भन्ने कुरालाई संग्रहले पुष्टि गरेको बताउनुभयो ।
कृतिमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कवि वैरागी काइँला, अमेरिकाकै रहनुभएका कवि ज्योतिकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र सकुन ज्ञवाली, हङ्कङका देश सुब्बा र पोखराका आरजु विष्ट सल्यानीको शुभकामनाका साथै साहित्यकार दामोदर पुडासैनी किशोर र कवि तथा समालोचक सुरेश हाँचेकालीको विश्लेषणात्मक भूमिका छन् ।