साहित्य सामाजिक जनजीवनमा केन्द्रित हुनुपर्ने

काठमाडौँ, १४ फागुन : साहित्य सिर्जनाले सामाजिक जनजीवनको विभिन्न पक्षलाई समेट्नुपर्नेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कविले जोड दिनुभएको छ ।

बानेश्वर सर्जक समाज र बानेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आज यहाँ आयोजित अन्तरक्रियामा स्रष्टाले सो कुरा बताउनुभएको हो । नेपाल सांस्कृतिक सङ्घका सभापति तीर्थबहादुर थापाले साहित्यलाई सबैले रुचाउने सिर्जनाका रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष महेश प्रसाईंले कवितामा प्रयोग गरिने साहित्यले सामाजिक सशक्तीकरण, मानव कल्याणका लागि सहयोग गर्नुपर्ने बताउनुभयो । भारतीय कवि डा कीर्तिवर्दनले नेपाल भारतबीच सदियौँ पुरानो संस्कृतिले धेरै विषयमा समानता ल्याएको उल्लेख गर्दै त्यसले दुई मुलकको दौँत्य सम्बन्धलाई स्थापित गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले दुवै देशको मातृभाषा संस्कृत भएकाले साहित्य र संस्कृतिले दुई देशका नागरिकस्तरमा बलियो सम्बन्ध कायम गरेको उल्लेख गर्नुभयो । पुष्कर लोहनीले अबको साहित्यले आर्थिक रुपान्तरणलाई महत्व दिनुपर्नेमा जोड दिँदै प्रवासीले देशका लागि चालेका साहित्यिक कदमको सम्मान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सर्जक तथा प्राज्ञ प्रा डा केदार न्यौपाने, प्रा डा घमानसिंह खड्का, लव गाउँले, प्राज्ञ मातृका पोखरेल, प्राज्ञ श्रवण मुकारुङ, डा विष्णुविभु घिमिरे, किशोर पहाडी लगायतले कवि बानियाँको साहित्यिक योगदानको स्मरण गदै साहित्य सिर्जनाबारे विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा सिक्किमका कवि अमर बानियाँले ‘लोहोरो’ को एकल काव्य वाचन गर्नुभएको थियो । सो कार्यक्रममा कवि बानियाँसहित भारतीय कवि वर्दन र नेपाल सांस्कृतिक सङ्घका सभापति थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.