मातृभाषा दिवसमा कविता र सङ्गीत
काठमाडौँ, ९ फागुन : अन्तर्राष्ट्रिय मातृभाषा दिवस तथा बङ्गलादेशको शहीद दिवसका अवसरमा नेपालस्थित बङ्गलादेशको राजदूतावास तथा नेपाल भाषा परिषद्को संयुक्त आयोजनामा आज यहाँ कविता वाचन तथा बङ्गलादेशको साङ्गीतिक प्रस्तुति प्रस्तुत भएको छ ।
बङ्गण्लादेशमा आफ्नो मातृभाषाको संरक्षणको माग गर्दै भएको बृहत् आन्दोलनमा हजारौँ नागरिकको सहादत प्राप्त भएको थियो । आन्दोलनका प्रमुख शहिदका सम्झनामा बङ्गलादेशले फेबु्रअरी २१ तारिखको दिनलाई शहीद दिवसका रुपमा पनि मनाउँदै आएको छ ।
सो अवसरमा बङ्गलादेशको युवाका सङ्गठन कनेक्टेड ब्याण्डका प्रमुख फाहिम कमाल चौधरीको नेतृत्वमा रहेको बङ्गलादेशको मातृभाषा बङ्गाली भाषामा विभिन्न सुमधुर गीतसङ्गीत प्रस्तुत गरियो । नेपाल भाषा परिषद्का सदस्यसचिव धु्रव मधिकर्मीको नेतृत्वको नेपालका जनजातिका भाषामा विभिन्न कविता प्रस्तुत गर्नुभयो ।
‘दे लासाय् लाना च्वंबले’ शीर्षकको नेपाल भाषाको कविता वरिष्ठ कवियत्री प्रतिसरा सायमीले वाचन गर्नुभयो । त्यस्तै श्री राम श्रेष्ठले ‘जिगु पहिचान ः जिगु भाय्’ शीर्षकको कविता, बागदेवी राईले ‘पासाँग सुम्बा‘ शीर्षकको चाम्लिङ भाषाको कविता, मुक्तान देव थेवाले ‘दोखा’ शीर्षकको तामाङ भाषाको कविता तथा पूर्णिमा ताजपुरियाले ताजपुरिया भाषाको तथा गणेश घलेले घले भाषाको कविता वाचन गर्नुभयो ।
सो अवसरमा बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले विश्वमा मातृभाषाको संरक्षणको अभावमा थुप्रै मातृभाषाहरु लोप हुँदै गएको चर्चा गर्दै बङ्गलादेशमा बङ्गलादेशी नागरिकले मातृभाषाको संरक्षणका लागि ठूलो आन्दोलन गरेको र त्यसमा थुप्रै नागरिकले सहादत प्राप्त गरेको बताउनुभयो । उहाँले बङ्गलादेशले ती वीरगति प्राप्त गर्ने शहीदको सम्झनामा हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसको दिन कार्यक्रम गर्दै आएको बताउनुभयो ।
नेपाल भाषा परिषद्का सचिव धु्रव मधिकर्मीले युवा पिँढीको सजगताको अभावमा मातृभाषाहरु लोप हुने खतरा रहेकाले सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको पनि उपस्थिति थियो ।
