पर्यटन प्रवद्र्धनमा ‘काव्य यात्रा’
रामबहादुर थापा । बागलुङ, २९ माघ : साहित्यलाई पर्यटनसँग जोड्न यहाँका कवि, लेखक जुटेका छन् । ‘पर्यटन काव्य यात्रा’ मार्फत् पर्यटन प्रवद्र्धन अघि बढेको हो । यसको नेतृत्व धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले लिएको छ ।
प्रकृतिप्रेमी सर्जकलाई पनि यात्रा रुचिकर बनेको छ । यात्राको विशेषता पर्यटकीय गन्तव्यस्थलमा पुग्ने, त्यहीँ रचना गर्ने र सुनाउने हो । शहरका साघुँरा कोठामा बनिबनाउ रचना सुनाइरहेका सर्जकलाई यसले भिन्न अनुभूति दिलाएको छ । प्रकृति–प्रेमलाई रचनामा अभिव्यक्त गर्ने गतिलो मौका सर्जकले पाएका छन् । व्यस्त दैनिकी छलेर प्रकृति सामु पुग्दा कविको लेखन–शिल्प अझ उत्कृष्ट बन्ने गरेको छ । प्रतिष्ठानको ‘पर्यटन काव्य यात्रा’ बागलुङका केही धार्मिक तथा पर्यटक गन्तव्यस्थलमा पुगिसेकेको छ ।
जसमा भकुण्डेको बराहताल, बागलुङ नगरपालिका–४ को गौरीधाम शिव मन्दिर, बिहुँको रामकोट मन्दिर लगायत छन् । साहित्यको प्रवद्र्धनसँगै गन्तव्यस्थल चिनाउन ‘पर्यटन काव्ययात्रा’ शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । ‘साहित्यिक जागरण ल्याउनमा यात्राले सघाएको छ’ उहाँले भन्नुभयो, “पर्यटकीय ठाउँको पनि प्रवद्र्धनमा टेवा पुगेको हाम्रो विश्वास छ ।” प्रतिष्ठानले बागलुङसँगै धवलागिरि क्षेत्रका अन्य पर्यटकीय महत्वका ठाउँमा यात्राको योजना बनाएको छ ।
साहित्यका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा यात्राले टेवा पु¥याएको बागलुङका कवि दिल शिरिषले बताउनुभयो । साहित्यलाई अनुत्पादक मान्ने प्रवृत्तिका विरुद्ध यात्राले सकारात्मक जवाफ दिएको सर्जकको बुझाइ छ । पछिल्लो यात्रामा भकुण्डेको बराहताल पुग्नुभएका सर्जक कोपिला कँडेलले काव्य रचनाको लागि प्रकृतिले प्रेरित गरेको बताउनुभयो । ‘स्थलगत रुपमै सिर्जना गर्ने, त्यहीँ सुनाउने गर्दा यात्रामा रमाइलो अनुभव भयो’ उहाँले भन्नुभयो ।
कँडेल जस्तै त्यहाँ पुग्ने सबै सर्जकले ताल किनारमा बसेर कविता रचे, त्यहीँ सुनाए । बराह ताल, आडैको बराह मन्दिर, वरिपरीको प्राकृतिक सौन्दर्य र गाउँले जनजीवन सिर्जनामा प्रस्तुत गरेका थिए । प्रकृति–वर्णनसँगै जीवन भोगाइ, मानवीय संवेदना आदि विषय सिर्जनामा मुखरित थिए । प्रतिष्ठानले बराह मन्दिर र ताल व्यवस्थापन तथा संरक्षण समितिसँग मिलेर ‘पर्यटन काव्य यात्रा’ आयोजना गरेको थियो ।
समितिका सल्लाहकार एवं पूर्व सांसद नरबहादुर थापाले साहित्यको माध्यमबाट पर्यटनको उजागर भएको बताउनुभयो । ‘भाषा, साहित्यको प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो’ उहाँले भन्नुभयो । स्थानीय सङ्घ संस्थासँग मिलेर ‘पर्यटन काव्ययात्रा’ सञ्चालन गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष रोशनले बताउनुभयो । ‘यात्राले निरन्तरता पाउँछ’ उहाँले भन्नुभयो, “नयाँ–नयाँ गन्तव्य पहिचान गरेर यात्रामा निस्कन्छौँ ।”
साहित्यलाई सामाजिक मूल्यसँग जोड्न यात्राले सघाएको प्रतिष्ठानको जिकिर छ । व्यस्त दैनिकी छलेर बेलाबखत साहित्यिक यात्रामा निस्कन पाउँदा कवि, लेखक पनि खुशी छन् । यात्राले स्वस्थ चिन्तन र सिर्जनशीलतामा बल प¥याएको छ । प्रतिष्ठान भाषा, साहित्य र कलाको उत्थानमा विसं २०४१ देखि क्रियाशील छ ।
