‘सिर्जनात्मक कला महोत्सव’ शुरु

काठमाडौँ, २४ माघ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा आजदेखि काठमाडौँमा ‘सिर्जनात्मक कला महोत्सव २०७५’ शुरु भएको छ ।

सिर्जनात्मक कला विधालाई व्यवस्थितरूपमा अगाडि बढाई विशिष्टीकृत गर्दै कलाकारलाई प्रोत्साहन गरी कला क्षेत्रको भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्यले चार दिने कला महोत्सव शुरु गरिएको उक्त विभागका प्रमुख रमेशनाथ खनालले जानकारी दिनुभयो ।

ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको महोत्सवको उद्घाटन समारोहमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पछिल्लो र समसामयिक विधाका रूपमा विकास भएको सिर्जनात्मक कलाको विकासका लागि महोत्सव महत्वपूर्ण माध्यम भएको प्रतिक्रिया दिनुभयो । उहाँले नयाँ तथा पुराना कलाकार एकै ठाउँमा भेला हुँदा अनुभव आदानप्रदान पनि हुने र कला क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङले यस्ता महोत्सवले कलाकारलाई प्रोत्साहन दिनुका साथै कला क्षेत्रको विकासमा योगदान गर्ने भएकाले बेलाबेलामा कार्यक्रम भइरहनुपर्ने बताउनुभयो । महोत्सवले युवा कलाकारलाई हौसला प्रदान गर्ने उहाँको भनाइ छ ।

महोत्सवअन्तर्गत ‘परफरमेन्स आर्ट’ (भावभङ्गी कला) प्रतियोगिता, कार्टुन कार्यशाला तथा प्रतियोगिता, वास्तुकलाअन्तर्गतको स्थलगत चित्रकला कार्यशाला प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक रमेशनाथ खनालले जानकारी दिनुभयो । महोत्सवअन्तर्गत माघ २७ गतेसम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रम रहेको र आगामी फागुन १७ गते महोत्सवको समीक्षालगायतका कार्यक्रम हुने उहाँले बताउनुभयो ।

महोत्सवअन्तर्गत कार्टुनकलासम्बन्धी ‘डकुमेन्ट्री’ निर्माण गरिने तथा आर्ट फोटोग्राफी, नेपालमा कार्टुनकलाको इतिहास तथा नेपालको ‘इन्स्टलेसन आर्ट’को विषयमा पुस्तक लेखन सम्झौता हुनेछ । महोत्सवको ‘परफरमेन्स आर्ट’का लागि १२, कार्टुन कार्यशालाका लागि ३० र स्थलगत चित्रकला कार्यशालाका लागि ७० कलाकारले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

प्रतियोगितात्मक कार्यक्रमको हरेक विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई नगद क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, सहसचिव विपितकुमार घिमिरे, विन्द स्पेश फर आर्टिष्टका अध्यक्ष पृथ्वी श्रेष्ठ, कार्टुनिष्ट क्लबका अध्यक्ष अविन श्रेष्ठलगायतले आआफ्ना भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal