तीन स्रष्टालाई युवा कोष पुरस्कार प्रदान
काठमाडौँ, १६ माघ : राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित छुट्टाछुट्टै दुई पुरस्कार तीन जना स्रष्टालाई अर्पण गरियो ।
कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा यस वर्षको ‘अरनिको युवा कला पुरस्कार’ युवा कलाकारद्वय समुन्द्रमान सिंह श्रेष्ठ र सुन्दर लामालाई संयुक्त रूपमा प्रदान गरियो ।
राष्ट्रिय विभूति अरनिकोको सम्मान तथा नेपाली कलाको संरक्षण र विकासमा सहयोग पु¥याउने ध्येयले विसं २०५७ मा स्थापित सो पुरस्कारको राशि नगद रु ५० हजार, स्वर्ण पदक तथा प्रमाणपत्र रहेको छ ।
हालसम्म सो पुरस्कारबाट ३७ जना कलाकार सम्माति भैइसक्नुभएको छ । नेपाली परम्परागत, आधुनिक एवं मौलिक चित्रकलाको फाँटमा निरन्तर सक्रिय रही प्रशंसनीय योगदान दिएवापत कलाकारद्वयलाई सो पुरस्कार प्रदान गरिएको हो ।
विसं २०४८ मा स्थापित यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक, सङ्गीतकार तथा लेखक अजर जङ्गमलाई अर्पण गरियो । युवा सङ्गीतकार जङ्गम सङ्गीत विधामा नै विद्यावारिधि गर्र्दै हुनुहुन्छ ।
नेपाली लोक, आधुनिक, मौलिक तथा सुगम सङ्गीतका फाँटमा अतुलनीय योगदान पु¥याउनुभएका स्वरसम्राट स्व नारायण गोपाल गुरुवाचार्यको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ४० हजार नगद, स्वर्णपदक तथा प्रमाणपत्र रहेको छ । सो पुरस्कारबाट हालसम्म ४३ जना स्रष्टा सम्मानित भैइसक्नुभएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीले ती पुरस्कार ती स्रष्टालाई अर्पण गर्दै कलाकार विभाजित नभई एकताबद्ध रुपमा कला साहित्यको श्रीवृद्धिमा समर्पित हुनुपर्छ भन्नुभयो । सो अवसरमा कोषका अध्यक्ष भीमबहादुर अधिकारी, उपाध्यक्ष प्रदीपमान वैद्य, सदस्यसचिव शङ्करप्रसाद पाण्डेले कोषका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।
