कोठियालयभित्रको ‘चित्कार’

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदको प्रदर्शनीमा रहेका चित्रकला अवलोकन गर्दै सर्वसाधारण । तस्वीर: नारायण ढुङगाना

नारायण ढुङ्गाना । काठमाडौँ, १४ माघ : नेपालगञ्जका चित्रकार सुरजजान सुवेदीलाई केही वर्षअघि भारतमा कोठीमा नेपाली चेलीको अवस्था बुझन् मन लाग्यो । सामान्य रुपमा कोठीमा जान सहज थिएन । त्यसैले उहाँ ग्राहक बनेर लखनउको कोठीमा जानुभयो । त्यहाँभित्र भएका नेपाली चेलीसँग अन्तरङ्ग कुरा गरेर सकेजतिका स्केच कोर्नुभयो । उनीहरुको पीडा सङ्गालेर फर्कनुभयो ।

“कोठीमा यस्तो कारुणिक चित्कार थियो, त्यही चित्कार मेरा चित्रमा झल्किरहेको छ, तपाइँले हेर्दा नै महसुस गर्न सक्नु हुन्छ,” नेपाल कला परिषद्मा राखिएको आफ्नो चित्र देखाउँदै सुवेदीले भन्नुभयो ।

परिषद्मा भर्खरै ललितकलाबाट स्नातकोत्तर पास गरेका १० विद्यार्थीका चित्र छन् । ‘सङ्गालो’ नाम दिइएको चित्र प्रदर्शनीमा फरकफरक विधामा चित्रकारले क्यानभास रङ्ग्याएका छन् ।

चित्रकारहरुले आ–आफ्नो चित्र प्रदर्शनी स्थलमा ‘इन्स्टलेसन आर्ट’ समेत राखेका छन् । ट्राफिक सचेतनाका दृष्य, सडक बालबालिकाको अवस्था, रहरको शहर तथा संस्कार संस्कृति र मौलिक पेशालगायत विभिन्न विधाका दृष्य चित्रमा छन् ।

प्रदर्शनीमामा राखिएका चित्रमध्ये धेरैको मन छुने र वर्तमान परिवेशमा मिल्दो सुवेदीका चित्र छन् । एउटा तस्वीरमा कोठियालयभित्रकी एक महिला धेरै व्यक्तिबाट बलात्कृत भएकाले शिथिल अवस्थामा छिन् । नजिकै रहेका अन्य युवतीमा अनिच्छुक सम्बन्धका कारण विवशता झल्किने राताराता आँखासहितका कारुणिकता भेटिन्छ । एउटा मानवरुपी कछुवा त्यहाँ पुगेर उनीहरुको अवस्था बाहिर ल्याउने प्रयास गर्दैछन् । अर्काे चित्रमा एक युवतीलाई मोलमोलाई (लिलाम) गरिँदै छ ।

कोठीभित्र हुने क्रियाकलापलाई सुवेदीले ६ वटा क्यानभासमा दुरुस्तै पार्नुभएको छ । नेपाली चेली कोठीमा कसरी दिन बिताउँछन् भन्ने कुरा चित्रमा देखिएको छ । “साना बालिका पनि कोठीमा देखें, उनीहरुलाई यौन उत्तेजना बढाउन सुई दिने गरिएको पाइयो, यस्ता दृष्यले मन छोयो,” सुवेदीले चित्र कोर्नुको उद्देश्यबारे बताउँदै भन्नुभयो, “एउटा कलाकारको पनि समाज सुधारमा जिम्मेवारी हुन्छ नि, मैले त्यही भूमिका निभाएको हुँ ।”

उहाँका अनुसार नेपाली चेली अब त हाम्रो जिन्दगी नै यही कोठीमा बित्छ, हाम्रो संसार यही नै हो भनेर विवशताका कुरा गरेकाले चित्रमार्फत उनीहरुको चित्कारलाई प्रतिविम्बित गरेर समाजलाई सन्देश दिन खोजेको सुवेदीले बताउनुभयो । “यो चित्र सरकार र हामी सबैका लागि ध्यानाकर्षण पनि हो,” उहाँले भन्नुभयो ।

चौध वर्षदेखि चित्रकलामा लाग्नुभएका सुवेदीले केही महीनाअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको चित्रसमेत कोरेर न्यायको सन्देश दिन खोज्नुभएको थियो ।

नजिकै सन्तोष राईका चित्र सङ्गालो छ । उहाँले चुलोको ‘इन्स्टलेसन आर्ट’ निर्माण गरेर संस्कृति संस्कार परिवर्तन भइरहन्छन्, यो व्यावसायिक पनि भइरहनुपर्छ भन्ने सन्देश दिँदै चित्र कोर्नुभएको छ ।

भर्खरै व्यावसायिक चित्रकारिता शुरु गर्न थालिएका उहाँले चुलोलाई होमादी कुण्डको रुपमा परिभाषित गर्नुहुँदै भन्नुभयो, “यही चित्रले मेरो चुलो बल्नुपर्छ, चुलो बलेन भने मेरो अस्तित्व नै रहँदैन, प्रतीकात्मक स्वरुप चुलो निर्माण गरिएको हो ।”

कीर्तिपुरका रामचन्द्र महर्जनले रहरको शहर निर्माण गर्नुभएको छ । इन्स्टलेशन आर्टमा अन्न फल्ने क्षेत्रमा घर फलिरहेको दृष्य राखेर उहाँले विकृतियुक्त वर्तमान शहरका चित्रलाई पनि क्यानभासमा उतार्नु भएको छ । “संस्कृति हराउँदै गयो, शहर कुरुप बने, यसमा ध्यान दिऔं भन्ने नै सन्देश हो” महर्जनले भन्नुभयो ।

सुरेश बस्नेतले ट्राफिक सन्देशसहितका चित्र कोर्नु भएको छ । राष्ट्र कार्कीले ठमेलदेखि वसन्तपुरसम्मका सडक बालबालिकाको अध्ययन गरेर उनीहरुको कथालाई चित्रमा समावेश गरेर प्रस्तुत गर्नुभएको छ । टिबी थापा मगरले रङको ‘इन्स्टलेसन’ चित्र बनाई एउटा आमालाई पृथ्वीको प्रतिनिधि पात्र बनाएर चित्र कोर्नु भएको छ । सबैले देशमा कुनै न कुनै बार लगाएर साँघुरो बनाउँदै लगेकाले समस्या बढ्दो छ भन्ने सन्देश उहाँको चित्रमा छ ।

सङ्गालोमा चित्रकारहरु सुरक्षा वाग्ले, निशा शर्मा, हरिओम मेहता, सन्तोष राई, रामचन्द्र महर्जन, सुरेश बस्नेत, टिवी थापा, सुरजजान सुवेदी, कुमार दोर्जे लामा र राष्ट्र कार्कीका चित्रहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.