ज्ञवालीको व्यङ्ग्य निबन्धसङ्ग्रह ‘बोकाको मन’ सार्वजनिक

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली काठमाडौँमा शनिबार काशीनाथ ज्ञवालीद्वारा लिखित व्यङग्य निबन्ध सङग्रह ‘बोकाको मन’ पुस्तक विमोचन गर्दै । तस्वीर: रोशन सापकोटा

काठमाडौँ, ५ माघ : साहित्यकार काशीनाथ मिश्रित (ज्ञवाली) द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) सार्वजनिक गरिएको छ ।

भुँडीपुराण प्रकाशनद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो व्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचन गर्नुभयो । सङ्ग्रहमा नेपालको राजनीतिलगायतका विषयलाई व्यङ्ग्य गरिएका दुई दर्जन निबन्ध समावेश गरिएका छन् ।

सो अवसरमा मन्त्री ज्ञवालीले देशमा लामो सङ्घर्षपछि राजनीतिक परिवर्तन प्राप्त भएको सन्दर्भमा सांस्कृतिक परिवर्तनका लागि अझै केही समय लाग्ने बताउनुभयो । उहाँले व्यङ्ग्यलाई जबर्जस्ती ढङ्गभन्दा पनि शालिन ढङ्गबाट प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

‘बोकाको मन’ का लेखक ज्ञवालीले अपाङ्गता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्ने माग गर्नुभयो । रुरु–५ सुन्डाँडा, गुल्मीमा विसं २०३० मा जन्मिनुभएका दृष्टिविहीन साहित्यकार ज्ञवाली गाउँकै विद्यालयमा शिक्षक हुनुहुन्छ । उहाँ कविता, काव्य र निबन्ध लेखनमा पनि सक्रिय हुनुहुन्छ । ज्ञवालीका यसअघि ‘रक्सी’ (खण्डकाव्य), ‘केही अभिव्यक्तिः केही परिभाषा’, ‘भोकमारी’ सहलेखन र ‘दुर्भाग्य’ (महाकाव्य) प्रकाशन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.