गँकी वसुन्धरा पुरस्कारबाट मल्ल के. सुन्दर सम्मानित

काठमाडौँ, १ माघ : नेपाल भाषाका उपन्यासकार एवम् वरिष्ठ पत्रकार मल्ल के. सुन्दर यस वर्षको गँकी वसुन्धरा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

गँकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ‘व लँपु, थ्व पला’ (यो बाटो, त्यो पाइला) शीर्षकको नेपाल भाषामा लेखिएको उपन्यासका लागि उहाँलाई सो सम्मान गरिएको हो । नेपाल भाषामा मल्लका एक दर्जनभन्दा बढी उपन्यास प्रकाशित छन् ।

अहिंसा र विनय मैत्रीको ध्यानमा बसेर निर्वाण प्राप्त हुन्छ भन्ने विश्वासमा प्रतिबद्ध विश्रान्ती गुरुमाँ तथा सशस्त्र विद्रोहको माध्यमबाट वर्ग शत्रुलाई समाप्त गरी जनताको मुक्तिका लागि युद्ध लडिरहेका छापामार मुक्ता पात्र रहेको सो उपन्यासमा मल्लले ती दुई अलग्ग मुद्दालाई केन्द्रित गरिएको छ ।

बौद्धविद्वान बुद्धिराज बज्राचार्यका अनुसार उपन्यासमा बुद्धधर्ममा बोधिसत्व शील पालना गराई विश्रान्ती गुरुमाँ र मुक्ता दुई पात्रलाई लेखकले प्रस्तुत गरेको छ ।

त्यस्तै कार्यक्रममा जनगायक रामेश श्रेष्ठलाई धुस्वाँ सायमी सिर्जना सम्मानबाट सम्मानित गरियो । करीब पाँच दशकदेखि गीतसङ्गीतको माध्यमबाट जनजागरण ल्याउन महत्वपूर्ण योगदान गरेको भन्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठले दुबै जनालाई उक्त सम्मान प्रदान गर्नुभयो । सो अवसरमा उहाँले नेपालमा रहेका सबै भाषा, संस्कृति तथा धर्मको विकासबाट मात्र देशको साँचो विकास हुने बताउनुभयो ।

श्रेष्ठले अहिलेको प्रदेश सरकारले नेपाल भाषाको विकासका लागि पहल गर्नुपर्ने पनि बताउनुभयो ।

सम्मानित व्यक्तित्व मल्ल के. सुन्दरले राज्यले कुनै एक भाषा, धर्म, कला र संस्कृतिलाई मात्र राष्ट्रिय भाषा र संस्कृतिका रुपमा मान्यता दिन नहुने बताउँदै ‘मेरो आमाले बोल्ने भाषा मेरो समुदाय, समाजमा सम्मानित होस्’ भन्ने अभिप्रायले आफूले नेपाल भाषामा उपन्यास लेखन कार्य शुरु गरेको धारणा व्यक्त गर्नुभयो ।

अर्का सम्मानित व्यक्तित्व श्रेष्ठले आफूले देशका गरीब जनताको मुक्तिका लागि पाँच दशकदेखि गीत गाउँदै आएको उल्लेख गर्दै सबै गरीब नेपाली जनताको पक्षमा सरकारले काम गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

कलाकार हरिहर शर्माले स्थानीय कला, संस्कृति, भाषा र धर्मको विकासमा राज्यले विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका संरक्षक दीपक मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गँकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ डा अरुण सायमीले सामाजिक न्याय र समतामूलक विकास गर्न सकेमा मात्र जनताले प्रजातन्त्रको अनुभूति गर्न सक्ने बताउनुभयो ।

नेपाल भाषाका उपन्यास सम्राट धुस्वाँ सायमी तथा श्रीमती वसुन्धरा सायमीको स्मृतिमा विसं २०४९ मा गँकी धुस्वाँ–वसुन्धरा पुरस्कार स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.