राईको एक महिने चित्रकला प्रदर्शनी शुरु

काठमाडौँ, ७ पुस : ओखलढुङ्गाका चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु भएको छ । 

ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा उहाँको एक महिने चित्रकला प्रदर्शनी शुरु भएको हो । विभिन्न स्कुलमा बालबालिकाका कला प्रशिक्षक उहाँले जीवन कै पहिलो कला प्रदर्शनीले उर्जा मिलेको बताउनुभयो । 

शुक्रबारदेखि शुरु भएको प्रदर्शनीमा समसामयिकदेखि स्थानीयको रहनसहन, धार्मिक मठमन्दिर, गुम्बा, मुहारचित्रदेखि विभिन्न कलात्मक विषय वस्तुका चित्र समावेश गरिएको छ । 

दोलखा घुम्ने क्रममा पञ्चे बाजा बजाउने नेपाली मौलिक संस्कृति झल्कने दुई स्थानीयको तस्बीरलाई उहाँले सुन्दर ढङ्गले क्यान्भासमा उतार्नुभएको छ । यो चित्र ‘क्लासिक ग्यालरी’ कै आकर्षक चित्र बन्न पुगेको छ । अर्काे एक्रेलिक रङमा चित्र कैंची अस्पताल पनि मन छुने खालको चित्र छ । 

पानी रङमा खेलेर बौद्ध स्तुपालाई दुरुस्त पार्नुभएका उहाँको यहाँ २२ चित्र प्रदर्शनमा छन् । इचिङ कलाको उत्कृष्ट नमूना स्वरुप नेपालका धार्मिक क्षेत्र र मठमन्दिरका चित्रले दर्शकलाई लोभ्याउने खालको छ । 

ग्यालरीका सञ्चालक सरिता डङ्गोलले नवकलाकारलाई प्रोत्साहन र सम्मान दिने अभियान अन्तर्गत यो पटक रुपकको चित्रलाई स्थान दिएको जानकारी दिनुभयो । उहाँले एक वर्षको चित्रकलाको मुल्याङ्कन गरी उत्कृष्ट एक जना चित्रकारलाई कला प्रदर्शनीका लागि ग्यालरीमा निशुल्क प्रदर्शन गर्ने अवसर प्रदान गर्ने गरेको बताउनुभयो । 

प्रदर्शनीको आज शनिबार दोस्रो दिनसम्म ४ वटा चित्र बिक्री भएकाले चित्रकार राईले काममा थप हौसला मिलेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.