किरणसहित अन्य स्रष्टा सम्मानित

घोराही, ३ पुस : प्रगतिशील लेखक सङ्घले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा साहित्यक स्रष्टाहरुलाई सम्मान गरेको छ । 

सङ्घले नेकपा (क्रान्तिकारी)का महासचिव, साहित्यक एवं वैचारिक व्यक्तित्व मोहन वैद्य किरणलाई ‘वर्ष सम्मान’ प्रदान गरेको छ । साहित्यिक नाम चैतन्य राख्नुभएका वैद्य विसं २०१९ देखि नै साहित्यमा क्रियाशिल रहेर सिर्जनाको क्षेत्रमा अनवरत लागेको भन्दै सङ्घले उहाँलाई सम्मान गरेको थियो । 

उहाँले राजनीतिसँगै साहित्य, समालोचनाका करीब एक दर्जन बढी पुस्तक प्रकाशन गरिसक्नुभएको छ । उहाँलाई प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले सम्मान पत्रले सम्मान गर्नुभएको थियो । 

यस्तै सङ्घले लामो समयदेखि साहित्य र पत्रकारितामा लाग्नुभएका शरद अधिकारीलाई प्रगतिशील साहित्य पुरस्कार, साहित्यकार टीकाराम उदासीलाई चिन्तामणि जमुना स्मृति पुरस्कार र थारु साहित्यका अग्रणी छविलाल कोपिलालाई अनन्त टीका प्रतिभा पुरस्कार प्रदान गरेको छ । त्यस्तै गुरुप्रसाद कुमाल बुलबुललाई गोविन्द चीस सर्जक पुरस्कार र महिला साहित्यकार शारदा शर्मालाई गोविन्द ज्ञवाली साहित्य पुरस्कार प्रदान गरिएको छ । 

यसैबीच क्रान्तीकारीका महासचिव एवम प्रगतिशिल साहित्यकार बैद्यले प्रगतिशिल सर्जकले आफ्नो साहित्य र कलाको लक्ष्य खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबैले सल्लाह गरेरै भए पनि स्रष्टाले लक्ष्य पछ्याएर अगाडी बढ्नुपर्ने समय आएको बताउनुभयो । उहाँले विभिन्न आन्दोलन एवम सत्ता प्राप्तीको समयमा सर्जकले आफना सिर्जना मार्फत परिर्वनको लागि ठुलो भुमिका खेले पनि अन्तमा भुमिका विहिन बन्नुपरेको उल्लेख गर्नुभयो । “नेपालको इतिहासमा भापा विद्रोह र १० बर्षे युद्धले गरेको राजनीतिक परिर्वनलाई स्रष्टाको सिर्जनाले सहयोग गरेको थियो”,उहाँले भन्नुभयो, “तर त्यस समयमा सास्कृतिक क्रान्तीमा लाग्नेहरु ओझेल परेका छन ।” 

कार्यक्रममा बोल्दै प्रगतिशिल लेखक संघका निर्वतमान अध्यक्ष डा.अमर गिरीले सर्जकले सिर्जनाको विषयमा जनतासँग प्रत्यक्ष छलफल गर्नुुपर्ने बताउनुभयो । उहाँले सिर्जना रचनात्मक, प्रभावकारी एवम परिवर्तनकारी हुनुपर्ने धारणा राख्नुभयो । प्रेस काउन्सिलका पुर्व अध्यक्ष शर्माले साहित्यमा राजनीति घुसेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.