कविता वाचनगरी मनाइयो देवकोटाको ११०औँ जन्मजयन्ती

काठमाडौँ, २२ कातिक : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती कविता वाचनगरी मनाइयो । नेपाल सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमा शर्माले १० वर्षको कलिलो उमेरदेखि नै साहित्य रचना गरेर छोटो अवधिमा नेपाली साहित्यलाई हालको गौरव गर्ने अवस्थामा पु¥याउनुभएको बताउनुभयो ।

अङ्ग्रेजीको बोलबाला भएको यस युगमा नेपाली भाषाको पुनरुत्थान गर्न देवकोटा जस्ता मान्छे फेरि चाहिएको उहाँले बताउनुभयो । शर्माले २०१० मा भानुभक्तको पहिलो शालिक राजा महेन्द्रले शिलान्यास गर्दा महाकवि देवकोटा पनि उपस्थित रहनुभएको उहाँले जानकारी दिनुभयो ।

सांस्कृतिक सङ्घका अध्यक्ष गोविन्ददेव पन्तले सङ्घ र देवकोटाको विशेष सम्बन्ध रहेको बताउँदै महाकवि पनि सङ्घको सदस्य रहनुभएको उल्लेख गर्नुभयो । उहाँले भारतीय विद्वान राहुल सांकृत्यायन नेपाल आउँदा देवकोटालाई भगवान् बुद्धपछिको ठूलो व्यक्ति भन्नुभएको स्मरण गर्नुभयो । उहाँले देवकोटा भारतका कविहरु पन्त, प्रसाद र निराला तीनजना संयुक्तभन्दा पनि ठूला कवि रहेको मूल्याङ्कन गर्नुभएको बताउनुभयो ।

कार्यक्रममा कविहरु रमेश खकुरेल, कोषराज न्यौपाने, अच्युतरमण रेग्मी, भूवनहरि सिग्देल, रमा शर्मा, अनुराधा थापा, विपुल सिजापति, भाग्यशाली अधिकारी, रत्ननिधि रेग्मी, इशा शाह, प्रा डा भीमदेव भट्ट, प्रा डा मोहनप्रसाद लोहनी, बैरागी जेठा, प्रमोद स्नेही, गिरिराज जोशी, विष्णु थिङ आदिले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सङ्घले श्रीमती इशा शाह र गिरिराज जोशीलाई उहाँहरुको काव्यिक योगदानका लागि रु १० हजार राशिको देवकोटा काव्यिक पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारका लागि कवि रमेश खकुरेलले रकम उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.