तस्वीरमा नेपाल–चीन सम्बन्ध
काठमाडौँ, १८ कात्तिक : नेपाल–चीन सम्बन्ध झल्काउने विविध तस्वीरको प्रदर्शनी शुरु भएको छ ।
नेपाल पर्यटन बोर्डले मासिकरुपमा आयोजना गर्दै आएको ‘ह्यास फोटो नेपाल’अन्तर्गत नेपाली तथा चिनियाँ फोटोग्राफरले खिचेका नेपाल तथा चीनका तस्वीरको प्रदर्शनी गरिएको हो ।
भृकुटीमण्डपस्थित बोर्ड परिसरमा आयोजना भएको प्रदर्शनी चार दिनसम्म चल्नेछ । बोर्डले प्रत्येक अङ्ग्रेजी महीनाको पहिलो शुक्रबार प्रदर्शनी गर्दै आएको छ । पर्यटकीय गन्तव्य, संस्कृति, प्रकृति र धार्मिकस्थलसँग सम्बन्धित १६० तस्वीर प्रदर्शनीमा राखिएको छ । यस्तै प्रदर्शनी भक्तपुरमा लक्ष्मी पूजा र गोवद्र्धन पूजाको दिन गरिनेछ ।
प्रदर्शनीको चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक यिन कुन सङले र बोर्डका निर्देशक विमल कँडेलले उद्घाटन गर्नुभयो । दुई देशबीचको सम्बन्ध विस्तार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिनुभयो ।
बोर्डले विगत तीन वर्षदेखि नेपाल प्रवद्र्धनका लागि विविध क्षेत्रलाई समेटेर प्रदर्शनी गर्दै आएको छ । पहिलो चरणमा चीनको ग्वाञ्जाओमा हालै प्रदर्शन गरिएको थियो । दोस्रो चरणमा काठमाडौँमा गरिएको छ भने चाँडै बेइजिङमा प्रदर्शनी आयोजना गरिनेछ ।
फोटोमार्फत् पर्यटन अभिवृद्धि गर्ने उद्देश्यका साथ गएका वर्षबाटै ‘फोटो नेपाल’का शृङ्खला नेपाल तथा विदेशमा अयोजना हुँदै आएको छ । फोटोमा हिमाल, पहाड अनि तराईको समथर भूमि र त्यहाँ रहने नेपाली अनुहार हाँसो, जीवन शैलीका तस्वीर छन् ।
हरेक फोटो नेपालका प्रदर्शन शृङ्खला कुनै एक स्थान विशेषका फोटो, सभ्यता र जीवनशैली प्रतिविम्बित गर्ने हेतुले आयोजना गरिन्छ । अर्कोतर्फ विभिन्न देशका पर्यटक अनि फोटोग्राफरले यहाँ आउँदा खिचेका फोटोलाई पनि फोटो नेपालले विशेष स्थान दिएर प्रदर्शन गर्दछ, यसपटक चिनियाँ फोटोग्राफरका लेन्सका माध्यमबाट भक्तपुरलाई देखाइएको छ ।
भक्तपुरको जीवनशैली, संस्कार, सभ्यता, संरचना अनि नेवारी समाजका हरेक अव्यवलाई यसपटकको फोटो नेपालले पस्किने जमर्काे गरेको छ । यसका साथै चिनिँया फोटो पनि प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीले नेपाल र चीनबीचको सांस्कृतिक, ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्वास लिइएको छ ।
