गौतमको स्मृति ग्रन्थ सार्वजनिक
काठमाडौँ, १० कात्तिक : विद्वच्छिरोमणि कुलचन्द्र गौतमको स्मृति ग्रन्थ सार्वजनिक भएको छ ।
कुलचन्द्र स्मृति संस्थाले प्रकाशनमा ल्याएको उक्त ग्रन्थमा कुलचन्द्रको व्यक्तित्व, कृतित्व र वंशावलीको वर्णन समेटिएको छ ।
तीन खण्डमा विभाजित ग्रन्थको पहिलोमा कुलचन्द्र गौतमको व्यक्तित्व र कृतित्वबारे विभिन्न क्षेत्रका विज्ञको लेख समावेश छ । दोस्रोमा गौतमका कृतित्वको उल्लेख गरिएको छ भने तेस्रो खण्डमा गौतमको वंशावलीको सारांशलाई समेटिएको छ ।
उक्त कृतिको विमोचन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका संस्थापक आयुक्त डा गौरीशङ्करलाल दासले विश्व भाषाको जननी संस्कृत भाषाको संरक्षण तथा प्रवद्र्धनका लागि यसको अध्ययनको दायरालाई अझ फराकिलो बनाइनुपर्नेमा जोड दिनुभयो । संस्कृत भाषाको ज्ञान नभएसम्म विशुद्ध नेपाली भाषा लेखनमा दक्खल नहुने भन्दै उहाँले संस्कृत शिक्षाको विद्यालयदेखि विश्वविद्यालयतहसम्म पठनपाठन हुनुपर्ने धारणा राख्नुभयो ।
अर्का मानवअधिकारवादी सुबोधराज प्याकुरेलले बौद्धिक शास्त्रको अपब्याख्याले संस्कृत वाङ्मय ओझेलमा परेकाले यसको जगेर्नाका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।
त्रिभुवन विश्वविद्यालय, संस्कृत विभागका अध्यक्ष प्रा डा नारायणप्रसाद गौतमले पश्चिमा विद्वान् तथा विश्वविद्यालयले समेत संस्कृत भाषाको अध्यापन र अनुसन्धान गरिरहेको सन्दर्भमा नेपाल सरकारले संस्कृत शिक्षाको प्रवद्र्धनमा विशेष ध्यान दिन जरुरी छ भन्नुभयो ।
प्रा दिनेशराज पन्तले गौतमका कृतिले संस्कृत वाङ्मयका विभिन्न विधामा महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो । कुलचन्द्र स्मृति संस्थाका अध्यक्ष डा प्रसन्नचन्द्र गौतमले स्मृति ग्रन्थ ऐतिहासिक दस्तावेजका रुपमा आएको उल्लेख गर्दै संस्कृत विद्यालाई अनिवार्य बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
पूर्वीय वाङ्मयका ज्ञाता, दक्षिण एशियाको सभ्यता र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्नुभएका गौतमलाई गोरखा दक्षिणबाहुको उपाधि तथा विलक्षण प्रतिभाशाली, साहित्यमणि, साहित्यभूषण, साहित्याचार्य, महाकविजस्ता उपमा दिइएको छ ।
उहाँका दुई दर्जनभन्दा बढी कृति प्रकाशित तथा केही प्रकाशोन्मुख अवस्थामा छन् । ग्रन्थलाई गौतमका नाती बेलायतमा प्राध्यापनरत डा प्रसन्नचन्द्र गौतमले सम्पादन गर्नुभएको हो ।
