षडक्षरी लोकेश्वर चैत्यको जानकारी समेटिएको पुस्तक लोकार्पण
काठमाडौँ, ८ कात्तिक (रासस) : ललितपुरको गोदावरी नगरपालिका–१४ बन्देपुर (बाडेगाउँ)स्थित नेपालको एकमात्र षडक्षरी लोकेश्वर चैत्यसम्बन्धी सम्पूर्ण जानकारी समेटिएको पुस्तक लोकार्पण गरिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट षडक्षरी लोकेश्वरको साँस्कृतिक अध्ययन विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा दयाराम श्रेष्ठले लेख्नुभएको उक्त पुस्तकमा बाडेगाउँको चैत्य र षडक्षरी लोकेश्वर तथा यसका विविध धार्मिक तथा सांस्कृतिक क्रियाकलाप र पक्षको विस्तृत वर्णन गरिएको छ ।
पुस्तकमा प्राचीन बन्देशपुर विहारमा बाडेगाउँका सबै नेवार समुदायका व्यक्तिले गर्ने बौद्ध संस्कृतिअन्तर्गतका संस्कार, जात्रा, परम्परा, चाडपर्वको समेत विस्तृत व्याख्या गरिएको छ । पुस्तक तयार पार्ने क्रममा अध्ययन गरिएका सामग्री र अभिलेखका चित्र, शिलापत्रको अनुवादका छायाप्रति, विभिन्न गरगहनाका विवरण, श्लोक र मन्त्रको विवरण, अभिलेखको अनुवाद तथा सारंश, पूजा सामग्रीको नामावली, जात्रा गरिने मार्ग, चैत्य र शिलापत्रको नाम पुस्तकमा समेटिएको लेखक डा श्रेष्ठले जानकारी दिनुभयो ।
सो पुस्तकको प्रतिनिधिसभामा ललितपुर क्षेत्र नं १ र ३ बाट निर्वाचित सांसदद्वय नवराज सिलवाल र पम्फा भुसाल तथा ललितपुर क्षेत्र नं ३ (क) का प्रदेशसभा सदस्य राजकाजी महर्जनले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
पुस्तकको लोकार्पण गर्दै उहाँहरुले नेपालको अमूल्य सांस्कृतिक धरोहरलाई जोगाइ राख्न विस्तृतमा अध्ययन शुरु गर्नुपर्नेमा जोड दिँदै यस्ता अमूल्य निधिको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो ।
भाषा वंशवली, विभिन्न स्थानमा पाइएका शिलापत्र, ऐतिहासिक पुस्तक तथा अन्य धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार बाडेगाउँमा अवस्थित बौद्ध चैत्य र षडक्षरी लोकेश्वरलाई काठमाडौँ उपत्यकाका चार प्रमुख बुद्ध भगवान् (स्वयम्भू, खास्ति÷बौद्ध र नमोबुद्ध) मध्येको एक मानिन्छ । बौद्ध धर्ममा श्रद्धा राख्ने लिच्छवि राजा वृषदेवले स्थापना गरेको त्यस चैत्य र षडक्षरी लोकेश्वर नेपालको एक महत्वपूर्ण ऐतिहासिक र पुरातात्विक बौद्ध सम्पदा हो ।
गृह मन्त्रालयमा अधिकृत तहमा कार्यरत डा श्रेष्ठको यो चौथो कृति हो । यसअघि उहाँका ‘लुभु क्षेत्र’, ‘नेपाल राज्यका देवी देवताहरु’ र ‘प्रात स्मरण स्तोत्र र भजन सङ्कलन’ प्रकाशित भइसकेका छन् ।