नेपाली साहित्य विकासमा सिक्किमका स्रष्टाको ठूलो भूमिका
काठमाडौँ, १७ साउन : नेपाली भाषा साहित्यको विकासका लागि सिक्किमका स्रष्टाहरुको ठूलो भूमिका रहेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले यहाँ आयोजना गरेको सिक्किमका कलाकार भेटघाट तथा सिक्किमका साहित्यकार के एन शर्माद्वारा लिखित ‘नेपाली भाषाका लोक अभिव्यक्तिको संगालो’कोे विमोचन समारोहमा सहभागी वक्ताले नेपाली भाषाको विकासमा सिक्किमे स्रष्टाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोक साहित्य, लोकगाथा, लोक परम्परामा बाँचेका शब्दहरु लोप हुँदै जाने अवस्थामा सिक्किमका कलाकारले लोक अभिव्यक्ति कोष संगालो निकालेर राम्रो काम गरेको बताउनुभयो ।
नेपाली वाङ्मय क्षेत्रको विकासमा सिक्किमका कलाकारको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सिक्किममा बसेर उहाँहरुले नेपाली भाषा, साहित्यको विकासका लागि ठूलो प्रयत्न गर्नुभएको छ ।”
भाषा आयोगका अध्यक्ष डा लभदेव अवस्थिले नेपाली भाषालाई जोगाउन सिक्किमका कलाकारले महत्वपूर्ण भूमिका खेलेको बताउँदै “यो भेटघाटलाई सिक्किम र नेपालको भाषिक मिलनका रुपमा लिन सकिन्छ भन्नुभयो । ”
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सिक्किम र नेपाली शब्दकोषलाई मिलाउन सके बृहत् नेपाली शब्दकोषको निर्माण हुने बताउनुभयो ।
पुस्तकका बारेमा विचार प्रस्तुति गर्दे प्रा डा चूडामणि बन्धुले लोक जीवनमा रहेका विभिन्न अभिव्यक्ति समेटिएकाले यो पुस्तकले नेपाली भाषा, साहित्यको विकासमा महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । “यो पुस्तकले नयाँ शब्द र अर्थको खोजी गरेको छ”, उहाँले भन्नुभयो ।
प्रा डा माधवप्रसाद पोखरेलले परम्परागत भाषा र शब्द हराउँदै गएका बेला शर्माले सबै शब्द समावेश गरेर राम्रो काम गरेको उल्लेख गर्दै नयाँ पुस्तालाई पुराना भाषा र शब्दको बारेमा ज्ञान लिनका लागि यो पुस्तकले सहयोग गर्ने बताउनुभयो ।
सिक्किमका साहित्यकार एवं लेखक शर्माले नेपाली भाषाको विकास र विस्तारका लागि २० वर्ष लगाएर आफूले उक्त पुस्तक तयार पारेको बताउँदै “सिक्किम र नेपाली भाषामा एकरुपता ल्याउन मैले उक्त पुस्तक लेखेको हुँ भन्नुभयो ।”
नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष रुद्र पौड्यालले नेपाली भाषाको विकास र विस्तारका लागि आफूहरु लागिपरेको बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव प्रा डा जीवेन्द्रदेव गिरी, साहित्यकार डा तुलसीप्रसाद भट्टराईलगायतले नेपाली भाषाको विकासका लागि सिक्किमका साहित्यकारले गरेका काम प्रशंसनीय भएको धारणा व्यक्त गर्नुभयो ।