‘घरघरबाट मातृभाषा बोलौँ’

भक्तपुर, ५ कात्तिक : नेपाल भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ सञ्चालित ३८ औँ साहित्य सम्मेलन र विराट नेपालभाषा साहित्य सम्मेलन गुथीले आयोजना गरेको ५७ औँ साहित्य सम्मेलन आज सम्पन्न भएको छ ।

नेपाल भाषा साहित्य तःमुँज्याले आयोजना गरेको ३८औँ नेपाल भाषा साहित्य सम्मेलनमा नेपाल भाषाका कविता, गीत, सांस्कृतिक कार्यक्रम, प्रहसन र व्यङ्ग्य प्रस्तुत गरियो । तःमुँज्यामा साहित्यकार एवं नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संस्कृति र परम्परागत क्षेत्रमा योगदान पु¥याउने नेमकिपाका केन्द्रीय सदस्य तथा किसान नेता बुद्धिकुमार गोसाईंलाई कदरपत्रसहित सम्मान गर्नुभयो ।

त्यसैगरी सांस्कृतिक र परम्परागत बाजाका वाद्यगुरु मीनबहादुर सुवाल र धिमेबाजा गुरु पूर्णवीर गैँडालाई पनि सम्मान गरियो । सम्मेलनमा तःमुँज्याले समाजसेवी गोपीकृष्ण प्रजापतिको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पत्रकार भैरव रिसाल, इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ, साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले विविध भाषा, संस्कृति समेटिएर बहुआयामिक प्रस्तुति देखाउनु नै तःमुँज्याको सफलता भएको बताउनुभयो ।

विराट नेपालभाषा साहित्य सम्मेलन गुथीले आयोजना गरेको ५७ औँ साहित्य सम्मेलनमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ऐतिहासिक नगर भक्तपुरमा ऐतिहासिक सम्मेलन अटुट रुपमा सञ्चालन हुनाले कला, संस्कृति, भाषा र साहित्यको विकासमा योगदान पुगेको पुष्टि हुने बताउनुभयो । “भाषा बाँचे मात्रै साहित्य बाँच्छ । त्यसैले भाषाको संरक्षणमा नयाँ पुस्ता लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

सम्मेलनमा साहित्यकार डा योगेन्द्र प्रधानलाई सम्मान गरिएको थियो । ‘ घरघरबाट आफ्नो मातृभाषा बोलौँ र बालबालिकालाई मातृभाषा सिकाऔँ’ भने नाराका साथ शुरु भएको सम्मेलनमा पद्मसुन्दर तुलाधर, प्रा डा नर्मदेश्वर प्रधान, त्रिरत्न शाक्य, सुजिता माःजु, न्हुछेभक्त कवाँ, महेन्द्रगोपाल कर्माचार्य, शशिकला मानन्धर, राजभाइ जकःमी, शरद कसाः, नवीनप्रकाश श्रेष्ठलगायतले आफ्नो रचना वाचन गर्नुभएको गुथीका सचिव बाबुकाजी साछे श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.