डा बरालको ‘नियति र अनुभूति’ पुस्तक विमोचित

काठमाडौँ, ३० असोज : प्रा डा मणीन्द्ररञ्जन बरालको पुस्तक ‘नियति र अनुभूति’ को विमोचन गरिएको छ ।

बयासी वर्षीय वरिष्ठ बालरोग विशेषज्ञ डा बरालको पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले विमोचन गर्दै पुराना तथा अनुभवी चिकित्सकको आत्मकथा महत्वपूर्ण कृति भएको बताउनुभयो ।

वरिष्ठ चिकित्सक डा हेमाङ्ग दीक्षितले पुस्तकको अर्को संस्करण पनि चाँडै आउनुपर्ने बताउनुभयो । पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले डा बराल बहुआयामिक व्यक्तित्वका धनी तथा बालबालिकाका हितको पक्षमा वकालत गर्ने बालरोग विशेषज्ञ भएको बताउनुभयो ।

एसओएस चिल्ड्रेन्स भिलेजका अध्यक्ष डा विश्वकेशर मास्केले डा बराल आफ्नो परिवारका पाँचपुस्ते चिकित्सक डा बराल चिकित्सा, राजनीति तथा विभिन्न क्षेत्रका मानिससँग सहकार्य गर्नुभएका अनुभवी भएकाले उहाँको पुस्तक महत्वपूर्ण भएको बताउनुभयो ।

बयासी वर्षीय ख्यातिप्राप्त चिकित्सक प्रा डा मणिन्द्ररञ्जन बरालद्वारा ‘नियति र अनुभूति’ पुस्तकको विमोचन गर्नुहुँदै बयानब्बे बर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी तथा डा बराललगायत । तस्बिर: रामलाल श्रेष्ठ

लेखक डा बरालले आफू ब्राह्मण परिवारमा जन्मी संस्कृतसमेत पढे तापनि नियतिले अङ्ग्रेजी पढ्ने अवसर प्राप्त गरी चिकित्सकसम्म भई लामो अनुभव बटुलेको बताउनुभयो ।
सिरहामा जन्मनुभएका डा बरालले पुस्तकमा बस्तीपुर, सिरहा, बेलायतमा उच्च अध्ययन, वीर अस्पतालदेखि कान्ति बाल अस्पतालसम्म काम गर्दाको अनुभव र अनु्भूति आदि विषयमा आफ्ना अनुभव व्यक्त गर्नुभएको छ ।

डा बरालले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी तथा अम्बर गुरुङजस्ता व्यक्तित्वसँग पनि सामिप्यतामा रही काम गर्नुभएको छ । डा बरालले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि सक्रिय रूपमा काम गर्नुभएको छ । ख्यातिप्राप्त उद्योगपति रामलाल गोल्छाका पाँच पुस्ताको तथा त्यसबेलाका सबैजसो मारवाडी परिवारको चिकित्सकका रूपमा काम गरेकाले उहाँलाई ‘मारवाडी डाक्टर’ पनि भनिन्छ ।

डा बराल अहिले पनि काठमाडौँ मेडिकल कलेजमा प्राध्यापनरत रही बालरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । सुस्मितासँग ५६ वर्ष अगाडि विवाह बन्धनमा बाँधिनुभएका डा बराल दम्पतीको आजै विवाह वार्षिकोत्सवको संयोग परेको उहाँका छोरा रविले बताउनुभयो । कुलचन्द्र गौतम स्मृति संस्थाले प्रकाशन गरेको सो पुस्तक कवि विमल भौकाजीले सम्पादन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.