संस्कृतिविद् जोशीको अभिनन्दन

संस्कृतिविद एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई काठमाडौँको सुविधानगरमा एकीकृत उपभोक्ता संघले शनिबार सम्मान र अभिनन्दन गर्दै । तस्वीर: नारायण न्यौपाने

काठमाडौँ, २७ असोज : संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज सम्मान र अभिनन्दन गरिएको छ । नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव, अजम्बरी राष्ट्रिय सम्पदाको रूपमा चित्र गर्दै तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले आज यहाँ आयोजित समारोहमा उहाँलाई अभिनन्दन गरेको हो ।

विसं १९७७ मा वैशाख ३० गते जन्मनुभएका संस्कृतिविद् जोशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा छ दर्शनभन्दा बढी सिर्जनात्मक र अनुसन्धानात्मक कृति प्रकाशित छन् । काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, कोशकार, समालोचक, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्धी कमाउनुभएका जोशीका लोकसाहित्य, लोकसंस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनूदित कृति प्रकाशित छन् ।

वाङ्मय शताब्दी पुरुष जोशीले सङ्घका अध्यक्ष मदनकुमार शिवाकोटी, महान्यायाधिवक्ता अग्नि खरेल र प्रा डा कुमारप्रसाद कोइरालालाई सम्मान र अभिनन्दनपत्र प्रदान गर्नुभयो ।

समारोहमा वाङ्मय शताब्दी पुरुष जोशी र महान्यायाधिवक्ता खरेलले एकीकृत उपभोक्ता सङ्घको वार्षिक स्मारिक जमराको २३औँ अङ्कको लोकार्पण गर्नुभयो । उक्त स्मारिकामा धर्म, साहित्य, वातावरण, विकास, भूगोल, कृषि, चार्डपर्वलगायतका विषयमा विद्धानका लेख रचना समावेश गरिएको छ । सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रमसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.