शरीर जोडिएका पाडापाडी जन्मिए 

बागलुङको गलकोट नगरपालिका ७ मल्मका किसान भविन्द्रबहादुर थापाले पालेको भैँसीले जन्माएका शरीर जोडिएका पाडापाडी । भैँसी आफैँ ब्याउन नसकेपछि मानिसले तानेर निकालेका थिए । जन्मेको केहीबेरमा तिनीहरु मरेका थिए । भैँसीले भने घाँसपानी खान र दूध दिन थालेको छ । तस्वीर सौजन्य: विष्णु थापा

बागलुङ, १४ साउन : प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए ।

जन्मिँदा जीवितै रहे पनि केहीबेरमा पाडापाडी मरेको छिमेकी विष्णु थापाले बताउनुभयो । अघिल्लो दिन राति ९ बजेदेखि भैँसीलाई व्यथा चले पनि सोमबार बिहान मात्र पाडापाडी निकालिएको उहाँको भनाइ छ ।

“भैँसीलाई ब्याउन गाह्रो भएपछि हामीलाई बोलाउनुभयो, पाँच÷सात जना युवा मिलेर बल्लबल्ल पाडापाडी तान्यौँ”, थापाले भन्नुभयो । नगरपालिकाको पशु सेवा शाखामा खबर गरे पनि वर्षाका कारण आउन नसक्ने बताएपछि बलपूर्वक तानेर पाडापाडी निकाल्नुपरेको उहाँको भनाइ छ ।

भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको पहिलोपटक देखेको थापाले बताउनुभयो । दुई घण्टा लगाएर युवाहरुले जेनतेन पाडापाडी तानेका थिए । पाडापाडीको टाउको, खुट्टालगायत अङ्ग छुट्टाछुट्टै भए पनि शरीरको पछाडिको भाग जोडिएको थियो ।

लिमी पाराकोटे जातको दोस्रो बेते उक्त भैँसीले एकसाथ पाडो र पाडी जन्माए पनि शरीर जोडिएका कारण बचाउन नसकिएको हो । ब्याएपछि भैँसी दिनभर बिरामी प¥यो । भकारोबाट उठ्नसमेत सकेको थिएन । सालनाल भने समयमै भएको थियो ।

भैँसीले मङ्गलबार बिहानबाट घाँसापानी खान थालेको र दूध पनि दिएको किसान भविन्द्रबहादुरले बताउनुभयो । गुनी भैँसी ब्याउन नसकेर थलिएपछि उहाँलाई पिरलो थपिएको थियो । शरीर जोडिएका पाडपाडी जन्मिएपछि गाउँलेले अनौठो मानेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.