नवलपुर दूध र अण्डामा आत्मनिर्भर 

दयाराम आचार्य । कावासोती, ३१ भदौ : नवलपुर दूध र अण्डामा आत्मनिर्भर बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरमा जिल्लालाई आवश्यकता पर्नेभन्दा धेरै दूध र अण्डा उत्पादन हुँदै आएको छ । जिल्लामा पशुपालन तथा कुखुरापालन गर्ने किसानको सङ्ख्या बढेसँगै जिल्ला दूध र अण्डामा आत्मनिर्भर भएको हो ।

नवलपुरमा अहिले ३२ हजार ३९३ मेट्रिक टन दूध वार्षिक रुपमा उत्पादन हुँदै आएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लामा दूधको माग २८ हजार २८९ मेट्रिक टन छ । यहाँ उत्पादन हुने दूध जिल्लाको मागको तुलनामा चार हजार १०४ मेट्रिक टनले बढिरहेको अधिकृत श्रेष्ठले बताउनुभयो ।

जिल्लामा पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै नवलपुर दूधमा आत्मनिर्भर बनेको छ । अहिले सरकारले पशुपालन गर्ने किसानलाई प्रोत्साहन गरेसँगै यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । “सरकारले पशुपालन गर्ने किसानलाई प्रोत्साहन गर्न थालेसँगै यो व्यवसायमा आउने किसानको सङ्ख्या दिन प्रतिदिन बढदै गएको छ”, श्रेष्ठले भन्नुभयो, “जसले गर्दा उत्पादन बढ्दै गएको छ ।”

स्थानीय तहले कृषि तथा पशुपालनका क्षेत्रमा बजेट विनियोजन गरेर अनुदान दिने लगायत कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसले समेत यो व्यवसायमा आउने किसानको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । तनहुँस्थित सो कार्यालयले नवलपुरमा पशुपालनसम्बन्धी कार्यक्रम गर्दै आएको छ । कार्यालयको आव २०७५/७६को तथ्याङ्कानुसार नवलपुरमा ८० हजार २३५ गाईभैँसी किसानले पाल्दै आएका छन् । पशुपालनमा संलग्न परिवारको सङ्ख्यासमेत धेरै रहेको अधिकृत श्रेष्ठले बताउनुभयो ।

पशुपालनमा आउने किसानको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताउँदै उहाँले यसले उत्पादन अझै बढ्ने हँुदा अब बजारीकरणका लागि माग सिर्जना गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने देखिएकामा जोड दिनुभयो । सोहीअनुसार विभिन्न सहकारीलाई बजारीकरणको सहयोग पु¥याउने योजनासमेत रहेको उहाँले बताउनुभयो ।

नवलपुर दूधसँगै अण्डामा समेत आत्मनिर्भर रहेको छ । नवलपुरमा अहिले दुई करोड ३६ लाख ५७ हजार गोटा अण्डा वार्षिक उत्पादन हुँदै आएको छ । जिल्लाको सरदर माग एक करोड ४९ लाख २२ हजार रहेको अधिकृत श्रेष्ठले बताउनुभयो । जिल्लामा वार्षिक ८७ लाख ३५ हजार अण्डा धेरै उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएको दूध र अण्डाको मुख्य निकासी हुने बजार चितवन, बुटवल, पोखरालगायत शहर छन् ।

दूध र अण्डामा नवलपुर आत्मनिर्भर भएसँगै मासुमा समेत आत्मनिर्भर बनाउन योजना केन्द्रित रहेको अधिकृत श्रेष्ठले बताउनुभयो । अहिले नवलपुरमा मासुको माग वार्षिक चार हजार ३५२ मेट्रिक टन रहेको छ । उत्पादन भने वार्षिक तीन हजार ९१२ मेट्रिक टन रहेको उहाँले बताउनुभयो । केही मात्रामा जिल्लामा मासुको उत्पादन कम रहेको छ । पहाडी क्षेत्रमा बाख्रापालनको सम्भावना धेरै रहेको छ । अहिले पनि बाख्रापालन गर्ने किसानको सङ्ख्या धेरै छ तर व्यवस्थित रुपमा उन्नत जातका बाख्रापालन गर्ने किसान भने न्यून मात्रामा छन् । हाल बाख्रापालन गर्दै आएका किसानलाई उन्नत जातका बाख्रापालनमा प्रोत्साहन गर्ने हो भने मात्र पनि मासुमा जिल्ला आत्मनिर्भर बन्ने र बाख्रापालन गर्ने किसानले समेत राम्रो लाभ लिन सक्ने उहाँले बताउनुभयो ।

मासुको मुख्य स्रोत बाख्रा, भेंडा, बङ्गुर आदिको व्यावसायिक पालनमा जोड दिएमा मासुको उत्पादन बढने अधिकृत श्रेष्ठले बताउनुभयो । कार्यालयले नश्ल सुधार, पशुपक्षी प्रवद्र्धन, पाडीबाच्छी हुर्काउनेलाई विशेष अनुदान, कुखुरा पकेट, बाख्रा पकेट, गाईभैंँसी पकेट, बङ्गुर पकेटलगायत कार्यक्रमलाई प्राथमिकतामा राखी नवलपुरमा योजना सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.