भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति 

गण्डकी प्रदेश सरकारद्वारा लमजुङ दूधपोखरी गाउँपालिकामा भेडा मरेका कृषकलाई राहत वितरण कार्यक्रममा शनिबार गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडीलगायत कृषक र वितरण गर्न राखिएका भेडा । तस्वीर: जनक श्रेष्ठ

लमजुङ, १५ असार : गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको हो । प्रदेशसभा सदस्य धनञ्जय दवाडीले गाउँपालिकाको जोर्नीमा एक कार्यक्रममा कृषकलाई भेडा वितरण गर्नुभएको थियो । उहाँले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने बताउनुभयो । व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उहाँले कृषकलाई आग्रह गर्नुभयो ।

दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकामा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए । भेडा मरेपछि कृषकलाई रु पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताउनुभयो । उहाँहरुले सञ्चालन गरेको यस भेडीगोठमा ६४० बढी भेडा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.