पुष्प व्यवसायका लागि चिस्यान केन्द्र स्थापना
पेमा लामा । बनेपा, १३ असार : काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका वीरेन्द्र श्रेष्ठले यो वर्ष करीब २० रोपनी क्षेत्रफलमा विभिन्न जातका फूल लगाएका छन् ।
उहाँले उत्पादन गरेका फूल जिल्लाकै होटल, सरकारी कार्यालय र सहकारी संस्थालगायत काठमाडौँका बजारसम्म बिक्री हुने गरेको छ । विगत १४ वर्षदेखि निरन्तर रुपमा फूलखेतीमा संलग्न रहनुभएका श्रेष्ठले फूल फुल्दै गर्दा जति हर्षित हुन्छ, उत्तिकै फूलको भण्डारण गर्ने चिस्यान केन्द्र (कोल्ड रुम) को अभावमा चिन्तित हुनुहुन्छ ।
“उत्पादन भएका सबै फूल एकै पटक बजारमा बिक्री हुँदैन, त्यसको भण्डारणका लागि आवश्यक पर्ने चिस्यान केन्द्र नहुँदा धेरै फूल औँलिएर जान्छ, जसले गर्दा लगानीअनुसारको प्रतिफल उठाउन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “चिस्यान केन्द्रकोे व्यवस्था नहुँदा किसानले खेतीबाट उच्च प्रतिफल लिन सकिराखेको छैन ।”
व्यावसायिक रुपमा पुष्पखेती गर्ने किसानलाई लक्षित गरेर पुष्प व्यवसायी श्रेष्ठले चिस्यान केन्द्र स्थापना गरेको छ । आफूले सञ्चालन गरेको होरीजन नर्सरी फार्ममा जिल्लाकै पहिलो चिस्यान केन्द्रकोे स्थापना गरेको उहाँले बताउनुभयो । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत कृषि ज्ञानकेन्द्र धुलिखेलको समन्वयमा रु छ लाख र व्यवसायी श्रेष्ठको रु चार लाख गरी कूल रु दश लाखको लागतमा सो केन्द्र स्थापना गरिएको हो ।
सो केन्द्रको बिहीबार उद्घाटन गर्दै कृषि ज्ञानकेन्द्रका प्रमुख कृष्णभद्र अधिकारीले फूलको व्यावसायिक खेती र यसको बिक्रीबाट हुने अर्थ उपार्जनमा केन्द्रले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
फ्लोरिकल्चर एशोसिएशन नेपालका केन्द्रीय महासचिव विश्वमणि पोख्रेलले हावापानीको हिसाबले काभ्रेपलाञ्चोक फूल उत्पादनका लागि उपयुक्त जिल्ला भएको उल्लेख गर्दै यसका लागि यो केन्द्र कोशेढुङ्गा सावित हुने बताउनुभयो । “यहाँ उत्पादन भएका फूलमध्ये कार्नेशन अति राम्रो हुने र काठमाडौँको बजारमा काभ्रेपलाञ्चोक जिल्लामा उत्पादन हुने कार्नेशन फूल अत्यधिक खपत हुने भएकाले काभ्रे जिल्लालाई कार्नेशन फूलको हब नै बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
केन्द्रको स्थापनासँगै बिक्री नभएको अवस्थामा फूल फाल्नुपर्ने बाध्यताबाट अब मुक्त हुने र बिक्री हुन नसक्दा हुने क्षतिबाट बच्न सक्ने व्यवसायी श्रेष्ठले बताउनुभयो ।
जिल्लामा व्यावसायिक रुपमा नै फूलखेती गर्नेको सङ्ख्या कम भएकाले अफ सिजनको बेलामा सुरक्षित राख्नका लागि अरु फूल व्यवसायी साथीहरुको पनि राख्न सकिने उहाँले बताउनुभयो । शुरुमा छ रोपनी जग्गामा पाँच जनाले संयुक्तरुपमा फूलखेती शुरु गर्नुभएको उहाँले अरु साथीहरुले छोडेर हिँडेपछि एक्लैले खेतीलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेपलाञ्चोक शाखाको अध्यक्षसमेत रहनुभएका श्रेष्ठले यस आर्थिक वर्षमा प्रदेश सरकारबाट रु २८ लाखको बजेट विनियोजन गरेको भए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । प्रदेश सरकारमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका लागि भनेर रु २८ लाख बजेट विनियोजन गरी प्रस्ताव आह्वान गरेर कार्यान्वयन चरणमा रहेको छ ।
अब एउटा अपेक्षा पूरा भएसँगै उहाँको अर्को अपेक्षा खडा भएको छ । त्यो हो फूल खेतीको बीमा । अनुदानको अपुग अवस्थासँगै फूलखेतीमा बीमाको व्यवस्था नगर्दा आफूहरु मारमा पर्ने गरेको उहाँको भनाइ छ । एकातिर बीमाको व्यवस्था नहुनु र अर्कोतिर भारतबाट आयात हुने गरेको फूलका कारण यही उत्पादन हुने फूलले बजार नपाउने अवस्था सिर्जना भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा श्रेष्ठले जोड दिएको छ ।
सरकारले स्वरोजगारमूलक व्यवसायलाई बढावा दिनका लागि स्वदेशी फूलको प्रवद्र्धन गर्न लाग्नुपर्ने बताउँदै उहाँले अहिलेसम्म फूलखेतीको बीमा गर्ने व्यवस्था नभएको गुनासो गर्नुभयो । “स्वदेशमा उत्पादन हुने फूललाई सरकारले विशेष प्राथमिकता दिनुपर्छ”, श्रेष्ठले भन्नुभयो, “बाहिरबाट भन्सार नै नतिरिकन आयात भएको फूल रोक्न सकेन भने नेपाली फूल खेती गर्ने किसानको भविष्य नै नहुने र पुष्प व्यवसायी विस्थापित हुने अवस्था आउन सक्छ ।”
काभ्रेमा करोडौँ रुपैयाँको लगानीमा फूलखेती हुँदै आएको छ । यहाँका किसानले कार्डिनेशन, गुलाब र लिमोनियम जातका फूलखेती गर्दै आएका छन् । यसका अतिरिक्त सयपत्री, गोदावरी र मेरिगोल्ड मौसमअनुसारको खेती गर्दै आएका पनि छन् । काभ्रेका १३÷१४ जना किसानले व्यावसायिक रुपमा पुष्पखेती गर्दै आएको छ ।
