पाल्पालीको मौरी मोह

पवित्रा घिमिरे । रामपुर, १० जेठ : पाल्पालीको यतिबेला मौरी मोह जागेको छ । मौरीको मह बिक्रीबाट राम्रो आम्दानी हुने तथा घरायसी प्रयोजनका लागि आवश्यक हुने हुँदा पनि यसप्रति सबैको मोह जागेको हो ।

विभिन्न स्थानीय तहले अनुदानमा मौरीको घार वितरण गर्ने भएका कारणमा पनि यसमा कृषकको आकर्षण बढेको छ । निस्दी गाउँपालिकाले अनुदानमा कृषकलाई गोलासहितको मौरीको घार वितरण गरेपछि कृषकहरु खुशी भएका छन् ।

कृषि शाखा संयोजक नवराज घिमिरेले कृषकलाई व्यावसायिक तरिकाले मौरीपालनमा आकर्षित गर्न गोलासहितको आधुनिक मौरीघार वितरण गरिएको जानकारी दिनुभयो ।

कृषि शाखा कार्यालयले ५० प्रतिशत अनुदानमा गाउँपालिकाभरिका ४१ घरपरिवारलाई मौरीको घार वितरण गरेको छ । यसअघि घरको बार्दलीमा दुई/चार वटा मुढेघारमार्फत मौरीपालन गर्दै आएका कृषक आधुनिक घार मौरी गोलासहित पाएपछि खुशी भएका छन् ।

पाल्पाकै पूर्वखोला गाउँपालिका–२ जल्पाका दिलकुमारी पाण्डेले ४ वर्षअघि देखि २० वटा मुढेघार घरमै राखेर मह बिक्रीबाट आम्दानी लिँदै आउनुभएको छ । कुनै प्राविधिक ज्ञान बिना नै परम्परागत रुपमा घर तथा गोठको भित्तामा मुढेघार झुण्ड्याएर मौरीपालन गर्दै आएको पाण्डेले बताउनुभयो । उहाँले मौरीपालनबाट प्रतिमहीना रु २० हजार आम्दानी गर्नुहुन्छ । वडाअध्यक्ष निरबहादुर सारुले भने वडामा १० वटा आधुनिक मौरीघार वितरण गरेको बताउनुभयो ।

पाल्पाको रामपुर नगरपालिका–१ मा पनि मौरीपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न तालीम सञ्चालनसमेत गरिएको छ । जनउत्थान परिषद् पाल्पा र वडा नं १ का कार्यालयको समन्वयमा भएको तालीममा सहभागीले स्वास्थ्यका हिसाबले महत्वपूर्ण मानिने मह उत्पादनका लागि मौरीपालनमा रुचि देखाएका छन् । रामपुरको छम्के, चिहानडाँडा, बर्दाकोट, फोक्सिङ्कोटलगायतका स्थानमा मौरीपालनका निम्ति सर्वेक्षणसमेत गरिएको छ ।

रामपुर नगरपालिका–७ जामुनेखर्कका कृषक सूर्यप्रसाद रेग्मीले महबाट राम्रो आम्दानी लिन सकिने हुदाँ मौरीपालन सजिलो व्यवसाय भएको बताउनुभयो । बजारमा चिनीको रस खुवाएर निकालिने महलगायत विभिन्न किसिमका मह बिक्री हुने बताउँदै आफूले पालेका मौरी जङ्गलमा फुलेका फूलको रस चुसेर १०÷१५ दिनको फरकमा मह निकाल्ने गरेको बताउनुभयो । फूलको रस चुसेर मौरीले निकालेको मह स्वास्थ्यका हिसाबले समेत फाइदाजनक रहेको कृषक रेग्मीको भनाइ छ ।

रामपुरकै वडा नं ६ पाल्पाका २३ घरपरिवारलाई मौरीको घार वितरण गरेर मौरीपालनमा आकर्षित गरेको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । एक घर, एक मौरी घार अभियानअन्तर्गत वडा कार्यालयले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । रामपुर नगरपालिका–६ का ७५ वर्षीय जयनारायण न्यौपानेले पनि २०४९ सालदेखि मौरीपालन गर्दै आउनुभएको छ । उहाँले करीब दुई सयको हाराहारीमा आधुनिक घार राखेर मौरीपालन गर्दै आउनुभएको हो । प्रतिलिटर रु एक हजारमा प्रायः विदेशमा रहने नेपालीले महको माग गर्ने उहाँको भनाइ छ । न्यौपानेले वर्षमा दुई सय लिटर मह बिक्री गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा मौरीको घार तथा गोला बिक्रीसमेत गर्दै आउनुभएको छ ।

मौरीपालन रामपुुर नगरपालिकाको हाँगेपीपल, बर्दाकोट, मकैडाँडा, कुमैडाँडालगायतका क्षेत्रमा पनि मौरीपालन गर्ने कृषक रहेका छन् । बर्दाकोटका महेन्द्र खाँडले नौ घार राखेर मौरीपालन गर्नुभएको छ । त्यस्तै कुमैडाँडाका प्रकाश श्रेष्ठले ११ वडा आधुनिक तथा मुढेघारमा राखेर मौरीपालन गर्दै आउनुभएको छ । बिक्रीका निम्ति सजिलो हुने भएकाले पनि मौरीपालनमा सबैको रुचि जागेको कृषकको भनाइ छ ।

कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिव अर्यालका अनुसार पाल्पा जिल्लाबाट अहिले पाँच हजारको हाराहारीमा मौरीको गोला तथा करीब १२ हजार किलोग्राम मह बिक्री हुँदै आएको छ । जिल्लाका १२२ जना कृषकले एक हजार ५०० घारमा मौरीपालन गरेको प्रमुख अर्यालको भनाइ छ । अहिले पाल्पामा रामपुर, बराङ्दी, रिब्दीकोट, पालुङ्मैनादी, मदनपोखरा र कलङीमा मौरी स्रोत केन्द्र रहेका छन् ।

पाल्पामा उत्पादित मह स्थानीय बजार तथा बाहिरी जिल्लामा बिक्री हुँदै आएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.