रैथाने बाली प्रबद्र्धन–संरक्षणमा पहल

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, ७ जेठ : आदिमकालदेखि परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रबद्र्धन एवं संरक्षण गर्न पहल गरिएको छ । कृषि विभागमार्फत कृषि ज्ञान केन्द्र धुलिखेलले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा यसको मुख्य क्षेत्र घोषणा गरी रैथाने बाली विकास प्रबद्र्धन–संरक्षण कार्यक्रम थालेको हो ।

पोषणको दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमी लगायत पर्छन् । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ र चौंरी देउराली गाउँपालिका–८ तथा सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका–६ मा रैथाने बाली विकास प्रबद्र्धन कार्यक्रम शुरु गरिएको केन्द्रका बाली संरक्षण अधिकृत थर्क जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि स्थानीय कृषि प्राविधिकलाई तालिमसमेत दिइएको छ । कार्यक्रमअन्तर्गत रैथाने बालीको बीउ निःशुल्क रुपमा कृषकलाई वितरण गरिने तथा रैथाने बालीअनुसार ८५ प्रतिशत अनुदानमा यान्त्रिक औजार दिइने जिसीले बताउनुभयो । उहाँका अनुसार अन्य क्षेत्रका कृषकलाई यसप्रति आकर्षण गराउन कृषि ज्ञान केन्द्र र रैथाने बाली विकास कार्यक्रमको जानकारीमा राखिनेछ ।

पोषणको दृष्टिले महत्वपूर्ण मानिएका तर हाल नेपाली भान्छामा कमै प्रगोग हुने गरेकाले रैथाले बालीलाई प्रबद्र्धन एवं संरक्षण गर्न यस्तो कार्यक्रम लागू गरिएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका प्रमुख शवनम शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “लोपोन्मुख अवस्थाका रैथाले बालीलाई नयाँ कृषि कार्यक्रममार्फत प्रबद्र्धन गर्नेछौँ, यसले कुपोषणबाट मुक्त हुन तथा मानिसको स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्छ ।” उहाँका अनुसार रैथाने बालीको उत्पादन बढाई बजारीकरणका लागि कृषकलाई सहयोग गर्न यस वर्षदेखि कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक संरक्षण केन्द्र स्थापना गरिएको हो । यसैको माध्यमबाट लोपोन्मुख रैथाने बाली प्रबद्र्धन–संरक्षण गरिने कार्यक्रम बनाइएको छ ।

कृषि विभागले प्राङ्गारिक कृषि प्रबद्र्धन मिशन कार्यक्रमअन्तर्गत रैथाने बाली प्रबद्र्धन तथा संरक्षण कार्यक्रम लागू गरेको हो । अनुसन्धान र प्रसारमा कम जोड दिइएको यस्ता बालीलाई मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षाको आधार बनाइने लक्ष्य लिइएको केन्द्र प्रमुख शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार जलवायु अनुकूलित बाली, पौष्टिकताले भरिपूर्ण, उच्च प्रतिस्पर्धी क्षमता, मूल्य अभिवृद्धि तथा विविधीकरणको सम्भावना, बेजोड स्वाद, गुणस्तर उच्च, कृषि पर्यटन, कम लगानी, सिमान्त जमीनमा गर्न सकिने तथा ‘क्लाइमेट स्मार्ट भिलेज’ बन्ने भएकाले यसको प्रबद्र्धन–संरक्षण गर्नुपर्ने उद्देश्य राखिएको छ ।

रैथाने बालीमा धान र गहुँको तुलनामा प्रोटिन र फलाम तत्व बढी हुने भएकाले यसप्रति कृषकलाई आकर्षण गर्नुपर्ने आवश्यकता रहेको ज्ञान केन्द्र धुलिखेलका प्रमुख कृष्णभद्र अधिकारी बताउनुभयो । उहाँले भन्नुभयो “रैथाने बाली रोपेपछि त्यत्ति रेखदेख गर्न नपर्ने भएकाले सजिलो हुने र जुनसुकै हावापानीमा कम लागतमा पनि उत्पादन हुन्छ ।” विभागको तथ्याङ्कानुसार कोदोमा २८८ मिलिग्राम क्याल्सियम तथा ४९ दशमलव २ प्रतिशत फलाम पाइन्छ भने फापरमा ६४ मिलिग्राम क्याल्सियम पाइन्छ । यस्तै चामलमा १० मिलिग्राम क्याल्सियम र जिरो दशमलव सात प्रतिशत मात्र फलाम पाइन्छ ।

रैथाने बाली विकास कार्यक्रमलाई निरन्तरता दिन काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका अन्य स्थानीय तहसँग समन्वय गर्दै जाने योजना बनाइएको छ । विशेष गरी गाउँमा सञ्चालित घरबासमा रैथाने बालीको परिकार दिन सकिने भएकाले उनीहरुलाई कार्यक्रममा समेटिने बाली संरक्षण अधिकृत जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा रैथाने बाली प्रबद्र्धन गर्न सजिलैसँग सकिन्छ, यसका लागि चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ ।”

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा रैथाने बाली उत्पादन भएपछि बजारीकरण गर्न युवा कृषि मञ्च तथा समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारी संस्थाले चासो देखाएको छ । मञ्चका अध्यक्ष जयराम सिग्देलले जिल्लामा स्वस्थ एवं प्राङ्गारिक रुपमा उत्पादित रैथाने कृषि उपजलाई बजारीकरण गर्न तयार रहेको बताउनुभयो । दुई जिल्लामा रैथाने बाली प्रबद्र्धन एवं संरक्षण गर्न व्यावसायिक कृषक घरबास तथा प्राविधिकको सहभागितामा अगुवा कृषक माधवप्रसाद तिमल्सिनाको संयोजकत्वमा समिति पनि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal