जुलोजिकल पार्क खुल्ला गरिँदै

पोखरा, २७ वैशाख : लेखनाथको पचभैयामा निर्माणाधीन अन्तराष्ट्रियस्तरको चिडियाखाना (जुलोजिकल पार्क) आगामी साउन १ गतेदेखि खुल्ला गर्ने तयारी गरिएको छ । सो चिडियाखानाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले साउन १ गतेदेखि सञ्चालनमा ल्याउने युनाइटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेलले जानकारी गराउनुभयो ।

बृहत् पोखराको अवधारणाअनुसार पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर जुलोजिकल पार्क निर्माण कार्य तीव्र रुपमा बढाइएको हो । युनाइटेड क्लब पोखराको विशेष पहल एवं् स्थानीयवासीको सक्रियतामा १३४ हेक्टर क्षेत्रफलमा जुलोजिकल पार्क निर्माण कार्य भइरहेको क्लबका अध्यक्ष एवम् पार्क निर्माण समितिका संयोजक बख्रेलले जानकारी गराउनुभयो ।

पार्कभित्र वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा रहेको छ र हाल नीलगाई, अजिङ्गर, विभिन्न प्रजातिका चरा, मृग, बाह्सिंङ्गा, गिद्ध, वनबिरालो, बाँदरलगायतका जनावर राखिएको छ ।

क्लबले प्रत्येक वर्ष पोखराको अमरसिंहचौरमा गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याउने गरेको छ । पार्कभित्र वन्यजन्तु उद्धार केन्द्र निर्माणका साथै जनाबर राख्ने विभिन्न केज, वन्यजन्तुका लागि पानीट्याङ्की, प्रवेशद्वार, टिकटघर, बाटो निर्माणलगायतका कामलाई तीव्रता दिइएको छ ।

कास्कीका किसान चैतेधान खेतीतर्फ आकर्षित    

कास्की जिल्लाको सिञ्चित क्षेत्रका किसान चैते धानको खेतीतर्फ आकर्षित हुन थालेका छन् । चैत महीनामा धानबालीको रोपाइँ गरेपछि तीन महीनाको अवधिमा बाली तयार हुनुका साथै राम्रो उत्पादन पनि हुने थालेकाले किसान आकर्षित भएका हुन् । चैते धानका लागि पर्याप्त पानी र रासायनिक मलको आवश्यकता पर्दछ ।

कास्की जिल्लामा गतवर्ष ४५० हेक्टर जग्गामा चेत धानखेती गरिएको थियो । किसानले एक हजार २११ दशमलव चार मेट्रि««क टन उत्पादन गरेको कृषि ज्ञान केन्द्र कार्यालय, स्याङ्जाका प्राविधिक टङ्कप्रसाद चौलागाईंले जानकारी गराउनुभयो ।

पोखरा महानगरपालिकाको पटनेरी, माटेमसिना, सुरौदीका साथै कास्कीका सिञ्चित ग्रामीण क्षेत्रको खेतीयोग्य जग्गामा चैतेधानको खेती हुने गर्दछ । चालु आर्थिक वर्षमा सोही हाराहारीमा किसानले चैतेधानको खेती गरेका छन् ।

यसवर्ष समय–समयमा वर्षा भइरहेकाले गत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुने सम्भावना रहेको उहाँले बताउनुभएको छ । चालु आर्थिक वर्षमा कास्कीमा ६ हजार ८२० हेक्टर जग्गामा गहुँखेती गरिएकामा १२ हजार ८२१ मेट्रिकटन गहुँ उत्पादन भएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.