लोप हुँदै कोदो खेती

सुशीला रेग्मी । बेझाड, ७ चैत : पाल्पा जिल्लामा पछिल्लो समय कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको छ ।

प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले बाँझिदै जाँदा वनमाराले ढाकिएका छन् । जिल्लाका डाँडाभेगमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको हो ।

कोदो फल्ने ठाउँमा नै कृषकले खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको कृषक बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ ।

पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न कृषकले छाड्दै गएका हुन् । आजभन्दा दश वर्ष अघिसम्म निस्दी गाउँपालिका–५ गल्धा बहपुरका कृषक तेजन सुनारीले आफ्ना गाउँका सबै पाखापखेरा बारीमा कोदो लगाउने गर्नुहुन्थ्यो । कोदोको उत्पादन पनि राम्रै हुन्थ्यो । तर पछिल्ला समयमा उहाँले कोदोको व्यावसायिक खेती विस्तारै छाड्दै जानुभएको छ । “कोदो खेतीमै निर्भर भएर खेती गर्न कृषकले छाडिसकेका छन्, हिजोआज बरु बाख्रापालन, तरकारी लगायतका नगदेबाली, फलफूल खेतीतर्फ कृषक आकर्षित हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

सुनारी लगायतका गाउँका धेरै कृषकले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर, अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । परम्परागतरूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक २० बढी गाउँका कृषकको मुख्य खाद्यान्न बाली थियो ।

औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको हो ।

कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि आकर्षण भने घट्दै गएको छ । बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमीनहरु बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिसहरु शहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमीन अहिले बाँझिदै गएका हुन् ।

कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बाली भित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको रामपुर नगरपालिकाका कृषक सरस्वती सोमै बताउनुहुन्छ ।

उहाँले पहिलेपहिले पाँच मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताउनुहुन्छ । “धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरीद गर्न व्यापारी आउँथे, दुई चार पैसा पनि हुन्थ्यो अहिले त कोदो लगाउने जमीन वनमाराले भरिन थालेको छ”, उहाँले भन्नुभयो ।

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर, आजभोलि सबै हराए । खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको कृषक बताउँछन् ।

गाउँघरमा हेपिएको कोदो अहिले शहर बजारतिर खोजीखोजी खान थालिएको छ । सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल, गहुँलगायत अन्न भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौ जस्ता स्थानीय अन्नप्रतिको आकर्षण घट्दै गएको हो ।

स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको छ ।

धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालय पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठ बताउनुहुन्छ । जिल्लाको निस्दी गाउँपालिकाको मित्याल क्षेत्रलाई कोदो खेतीको पकेट क्षेत्रको रूपमा लिएकाले कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बीउबिजन, मेसिनरी औजारहरू उपलब्ध गराउँदै आएको श्रेष्ठले बताउनुभयो ।

जिल्लामा दुई हजार ५३७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्ब्न्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.