चिया उद्योग विकासमा सहयोग गर्न आग्रह

काठमाडौँ, ३ चैत : चीन भ्रमणमा रहनुभएका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको चिया उद्योगको विकास र विस्तारका लागि सहयोग गर्न चिनियाँ अधिकारीलाई आग्रह गर्नुभएको छ ।

चीनले संयुक्त रूपमा चियाको विकास र विस्तार गर्न तयार रहेको बताउँदै आएको छ । मन्त्री खनालले चीनसँगको पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउँदै बहुआयामिक बनाउनुपर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले नेपालले चिया तथा कफीमा राम्रो शुरुआत गरेको भए पनि अझै उत्कृष्ट बन्न नसेको अवस्थामा नेपाल सरकारले निर्यात गर्ने कृषि उपजको रुपमा राखेकाले चिया र कफीलाई उच्च प्राथमिकता राखेको स्पष्ट पार्दै त्यसका लागि चीन सरकारको सहयोग चाहिने बताउनुभयो ।

सिचुवान प्रान्तको इबिन नगरका उपमेयर चाङ पिङ नेतृत्वको टोलीसँग आज भएको भेटमा चिनियाँ पक्षले नेपालको चियाको विकासका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो । गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमणको क्रममा पनि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै चिया उद्योगको विकास गर्ने समझदारी भएको उपमेयर पिङले स्मरण गर्नुभएको थियो ।

चीनले चिया प्रशोधन केन्द्र विस्तार र प्रविधि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । मन्त्री खनालले गत वर्ष ५१ हजार किलो चिया चीन निर्यात गरेको जानकारी दिँदै अझै गुणस्तरीय चिया निर्यात गर्न चाहेको बताउनुभयो । सिचुवानको इबिनमा हुनलागेको तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मन्त्री खनाल नेतृत्वको टोली शनिबार त्यसतर्फ गएको थियो । सम्मेलनमा विश्वका ४० देशका प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.